फागुन ५ धनगढी : अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारले विजयी सुरुवात गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले पराजित गर्यो । जितसँगै चार देशसम्मिलित प्रतियोगितामा म्यानमारले तीन अंक जोडेको छ ।
म्यानमारको जितमा कप्तान विन थिङ्गे टुन, श्वे वि टुन र सान थउ थउले समान एक गोल गरे । एक गोलले पछाडि रहेको अवस्थामा लेबनानका लागि लिला इस्कान्डारले बराबरी गोल फर्काएकी थिइन् । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् । दुबै टोलीले केही सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।खेलको ५७औं मिनेटमा विन थिङ्गेले डेढ लक तोडिन् । बक्स बाहिरबाट विन थिङ्गेले गरेको राइट फुटेड सुन्दर प्रहार दोस्रो बारको टप कर्नर गोलमा परिणत भएको थियो ।
तर, म्यानमारको यो अग्रता धेरै बेर टिक्न सकेन । तीन मिनेटपछि फरवार्ड लिलाले लेबनानलाई खेलमा फर्काइन् । विपक्षी रक्षक र गोलकिपर अगाडि आएको फाइदा उठाउँदै लिलाले वान भर्सेस वानमा गोल गरिन् ।
खेलको ७२औं मिनेटमा श्वे वि टुनको गोलमा म्यानमारले फेरि अग्रता लियो । यु पर खाइङले राइड साइडबाट दिएको क्रसलाई कुनै पनि निगरानीमा नरहेकी श्वे विले हेडमार्फत गोल गरिन् । दुई मिनेटपछि म्यानमारले सान थउको गोलमार्फत दुई गोलको अग्रता लियो । त्यसपछि खेलमा कुनै पनि गोल भएन र म्यानमारले प्रतियोगितामा विजयी सुरुवात गर्यो । दिनको दोस्रो घरेलु टोली नेपालले किर्गिस्तानको सामना गर्दैछ । खेल साँझ ६ बजे सुरु हुनेछ ।