चैत्र ३१,धनगढी : नेपाल चार देशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा कुवेतसँग तीन रनले पराजित भएको छ । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा कुवेतले नेपाललाई पहिलो पटक पराजित गरेको हो । यसअघि नेपालले सन् २०१९ मा सात विकेट र यही शृंखलाको लिग चरणमा ६ विकेटको जित निकालेको थियो ।
आइतबार हङकङको मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १७१ रनमा समेटियो ।नेपालका लागि बसिर अहमदले ४३ बलमा आठ चौका र चार छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरे । यसैगरी नन्दन यादवले ३७ र आसिफ शेखले २१ रन बनाए ।नवौं विकेटका लागि बसिर र नन्दनले ७२ रनको साझेदारी गरेका थिए । कुवेतका लागि अनुदीप चेन्थमाराले तीन, नवीनराज राजेन्द्रन र यासिन पटेलले समान दुई तथा मोहम्मद शफिक र कप्तान मोहम्मद अस्लमले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रनको योगफल तयार पारेको थियो ।कुवेतका लागि रविजा सन्दारुवानले ३६ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीत भवसरले १६ र कप्तान मोहम्मद अस्लमले अविजित १३ रन बनाए ।
तेस्रो विकेटका लागि सन्दारुवान र पटेलले ५६ रनको साझेदारी गरेका थिए । नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान दुई तथा करण केसी र कुशल भुर्तेलले समान एक विकेट लिए ।