१९ श्रावण,२०८२ : भारत र ईंग्ल्यान्डबीचको ५ म्याचको टेस्ट श्रृंखला रोमाञ्चक बराबरीमा सकिएको छ । दुवै टिमले दुई–दुई जित हासिल गरे भने एक म्याच ड्र भयो । जो रुट र ह्यारी ब्रूकले शतक बनाएपनि फिनिसिङ हुन नसक्दा इंग्ल्याण्डले भारतसँगको पाँचौं टेस्टमा हार व्यहोर्दै शृंखला जित्नबाट वञ्चित भएको छ । भारतले ६ रनको जित निकाल्दै शृंखला हार टार्दा शृंखला २-२ को बराबरीमा सकियो ।

पाँचौं टेस्ट जित्न भारतले दिएको ३७४ रनको लक्ष्य इंग्ल्याण्ड पाँचौं दिन पहिलो सेसनमा ३६७ रनमा अलआउट भयो । ब्रूकले १११ रन तथा रुटले १०५ रन बनाएका थिए । आइतबार चौथो दिनमै सकिने अपेक्षा गरिएको खेल खराब प्रकाशका कारण सकिएको थिएन । अन्तिम दिनमा ४ विकेट बाँकी छँदा ३५ रन आवश्यक रहेको अवस्थाबाट खेल सुरु गरेको इंग्ल्याण्डले थप २८ रन मात्र जोड्न सक्यो ।

भारतका लागि मोहम्मद सिराजले ५ विकेट लिए भने प्रसिध कृष्णाले ४ विकेट लिए । इंग्ल्याण्डलाई जित दिलाउन संघर्ष गरिरहेका गस एट्किन्सनलाई बोल्ड गर्दै सिराजले ५ विकेट पूरा गर्दै भारतलाई जित पनि दिलाए ।

ईंग्ल्यान्डका एक ब्याट्र क्रिस वक्स घाइते भएर खेल्न नसक्ने अवस्थामा थिए । तर, आज अन्तिम विकेटका रुपमा उनी क्रिजमा आउनुपर्यो, जतिबेला ईंग्ल्यान्डलाई जितका लागि केवल १७ रन चाहिएको थियो । उनी ब्याटिङ गर्न सक्ने अवस्थामा थिएनन्, केवल अर्को इन्डमा उभिन र रनका लागि दौडिन भए पनि उनी क्रिजमा आए । अर्को इन्डमा गुस एट्किन्सनले छक्का हान्दै भारतलाई त्रसित बनाए पनि टिमलाई जितसम्म पुर्याउन सकेनन् । जितबाट ७ रनको दुरीमा ईंग्ल्यान्ड रोकियो । पहिलो टेस्टमा इंग्ल्याण्ड विजयी हुँदा दोस्रो टेस्टमा भारत विजयी भएको थियो भने तेस्रो टेस्ट इंग्ल्याण्डले जित्दा चौथो टेस्ट ड्र भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?