You are currently viewing ‘अपि शिक्षा परियोजना’ अन्तरगत एसपीए कलेजद्वारा सम्झना र सुनिललाई ६ वर्षे पूर्ण छात्रवृत्ति प्रदान

‘अपि शिक्षा परियोजना’ अन्तरगत एसपीए कलेजद्वारा सम्झना र सुनिललाई ६ वर्षे पूर्ण छात्रवृत्ति प्रदान

धनगढी । सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज), धनगढीले  ‘अपि शिक्षा परियोजना’ अन्तर्गत मानविकी तथा आर्ट्स संकायमा अध्ययन गर्न चाहने २ जना जेहेन्दार विद्यार्थीलाई ६ वर्षे पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । अक्सफोर्ड, इंग्ल्यान्डका ट्रस्टीहरूद्वारा प्रायोजित यो कार्यक्रम ग्रामीण तथा आर्थिक रूपमा पछाडि परेका क्षेत्रका विद्यार्थीहरूको शैक्षिक सपना साकार पार्ने उद्देश्यले सुरु गरिएको हो।
बिहीबार आयोजित छात्रवृत्ति घोषणा समारोहमा छात्रा सम्झना ठेकरे अपि दार्चुला र छात्र सुनिल बोहरा चुरे–१ कैलाली लाई औपचारिक रूपमा छात्रवृत्ति प्रमाणपत्र प्रदान गरिएको छ। उनीहरू आफ्ना अभिभावकहरू सहित कार्यक्रममा सहभागी भई समझदारी पत्र (एमओयु)मा हस्ताक्षर गरेका थिए।
कार्यक्रममा ट्रस्टी अध्यक्ष क्रिस्टोफर वाल्टर्सको प्रतिनिधित्व गर्दै नेपाल आइपुगेकी ट्रस्टी सदस्य भ्यालेरी जोन्स, स्थानीय साझेदार एवं एसपीए कलेजकी विदेश विभाग प्रमुख अपर्णा गुप्ता र एसपीए कलेजका क्याम्पस प्रमुख योगराज गौतम उपाध्यायले कलेजमा अध्ययनरत विद्यार्थीहरू, प्राध्यापकहरू अन्य अतिथिहरू का बिच छात्रवृत्ति हस्तान्तरणका साथै समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
छात्रवृत्ति प्राप्त गर्ने दुई जेहेन्दार विद्यार्थी सम्झना र सुनिललाई कक्षा ११ देखि स्नातक तह (ब्याचलर) सम्म ६ वर्ष अध्ययन  गर्न आवास, खानपिन, पोसाक, ट्युसन फी, पुस्तक सामग्री लगायत सम्पूर्ण शैक्षिक सुविधा प्रदान गरिने जनाइएको छ। कार्यक्रममा बोल्दै स्थानीय साझेदार एवं एसपीए कलेजकी विदेश विभाग प्रमुख अपर्णा गुप्ताले उनीहरूले उत्कृष्ट प्रदर्शन गर्न सकेमा विद्यार्थीहरूले इंग्ल्यान्ड जाने अवसर समेत प्राप्त गर्न सक्ने जानकारी दिइन्।
यस परियोजना अन्तर्गत एसइई परीक्षा दिएका छात्र–छात्राहरूले आवेदन गर्न पाउने व्यवस्था गरिएको थियो । भने छात्रवृत्ति मूल्याङ्कन समितिमा टंक प्रसाद जोशी, हेमा उप्रेती, उषा साहु र अपर्णा गुप्ता सहभागी थिए ।कार्यक्रममा बोल्दै एसपीए कलेजका क्याम्पस प्रमुख उपाध्यायले भने, “हामीले पहिचान गरेका प्रतिभाहरूलाई खेलकुद, प्रविधि, संस्कृति र शिक्षामा अवसर दिँदै आएका छौँ। अपि शिक्षा परियोजनाले हाम्रो अभियानमा थप ऊर्जा थपेको छ। एसपीए कलेजमा सिकाइको भोक भएका विद्यार्थीहरूलाई अवसर नै अवसर छन् । पैसाले पढाई रोकिँदैन सबै प्रकारका प्रतिभाहरू लाई सम्मान गर्दै एक छाता भित्र समेट्न कलेज प्रयत्नशील र प्रतिबद्ध छ ।”
यस्तै, ट्रस्टी सदस्य भ्यालेरी जोन्सले आफूहरू को अपि यात्राका क्रममा ग्रामीण भेगका विद्यार्थीहरूलाई सहयोग गर्नु पर्छ भन्ने महसुस भएको सोही अनुभूतिबाट अपि शिक्षा परियोजनाको सुरुवात भएको बताउँदै भनिन्, ‘हामीले विद्यार्थीहरूलाई तनाव प्रेसर रहित उत्कृष्ट शिक्षा प्रदान गर्ने अवसर दिन चाहन्थौं । सोही परिपेक्षमा एसपीए कलेजले सुदूरपश्चिममा विद्यार्थीहरू लाई उनीहरूका हरेक प्रतिभाहरू को सम्मान सहित प्रविधिमैत्री शिक्षा दिइरहेको देखेर एसपीए कलेज सँगको सहकार्यमा यो परियोजना सुरु  गर्न पाउँदा निकै खुसी छु । जेहेन्दार विद्यार्थी सम्झना र सुनिललाई बधाई सहित उज्ज्वल भविष्यको कामना ।’
छात्रवृत्ति प्राप्त गरेका जेहेन्दार विद्यार्थी सम्झना र सुनिलले आफूहरू को एसपीए कलेज जस्तो प्रतिष्ठित संस्थामा अध्ययन गर्ने सपना पुरा गरिदिएकोमा ट्रस्टी र कलेज परिवार प्रति आभार प्रकट  गर्दै आफूहरू लगनशील, अनुशासित भएर अध्ययन गर्ने बताएका छन् ।यस्तै, अभिभावक सम्झनाकी दिदी अम्बिका बोहराले सम्झना र सुनिललाई बधाई दिँदै आगामी दिनमा मेहनती, अनुशासित भएर पढ्दै थप सफलता हासिल गर्दै आफ्नो सँगै ट्रस्टी र कलेजको नाम रोशन गर्न सकुन् भनी शुभकामना व्यक्त गरिन् ।
त्यस्तै, अर्की अभिभावक सुनिलकी फुपू भावना बोहराले यो अवसर सुनिलको पढाई पुरा गर्न निकै लाभदायक भएको बताएकी छन् । ‘यो सुनौलो अवसर हो । हामीले सुनिललाई आर्थिक अवस्था कमजोर भएकै कारण गुणस्तीय शिक्षा दिन सक्दैनौकी जस्तो लाग्थो तर एसपीए कलेजले कक्षा ११ देखी ब्याचलर लेभल सम्म आवास सहितको पूर्ण छात्रवृत्ति प्रदान गरेकोमा निकै नै गौरवान्वित भएका छौँ । पढ्न पाए हुन्थ्यो, पढाउन पाए हुन्थ्यो भन्ने कलेजमा नि:शुल्क पढ्न पाउँदा को खुसी हुँदैन ? कलेज ट्रस्टी सम्बन्धित सबैलाई धन्यवाद । सुनिलले पनि अझै मेहनती अनुशासित भएर पढोस् सफलता मिलोस् शुभकामना ।’ उनले भनिन् । कलेज प्रशासनले यो छात्रवृत्ति कार्यक्रम सुदूरपश्चिम प्रदेशमै शिक्षा क्षेत्रमा एक ऐतिहासिक प्रयास भएको उल्लेख गर्दै ट्रस्टीहरू कृश वाल्टर्स र भ्यालेरी जोन्सप्रति विशेष आभार प्रकट गर्नुका साथै यो छात्रवृत्ति अवसरले बर्सेनि ग्रामीण भेगका मेधावी विद्यार्थीहरूलाई उज्यालो भविष्यको दिशा देखाउने विश्वास लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply