You are currently viewing अस्ट्रेलियाका क्रिस लिन सुदूरपश्चिम रोयल्समा आवद्ध

अस्ट्रेलियाका क्रिस लिन सुदूरपश्चिम रोयल्समा आवद्ध

२०भाद्र,धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि अस्ट्रेलियाका चर्चित खेलाडी क्रिस लिन सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन । लिनलाई सुदूरपश्चिम रोयल्सले आफ्नो टोलीमा समावेश गरेको हो । विदेशी खेलाडीका रूपमा क्रिस लिनलाई टोलीमा अनुबन्ध गरिएको सुदूरपश्चिम रोयल्सले जानकारी दिएको छ । ३५ वर्षीय क्रिस लिन प्रभावशाली ब्याट्सम्यान हुन् ।


लिनलाई टोलीमा अनुबन्ध गरेपछि आफूहरू उत्साही भएको क्लबले जनाएको छ । क्रिस लिनले अस्ट्रेलियाका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले चार एकदिवसीय अन्तर्राष्ट्रियमा कुल ७५ रन बनाएका छन् । यसैगरी, १८ टी–२० अन्तर्राष्ट्रियमा उनले कुल २९१ रन बनाएका छन् । यी दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर भने ४४ रन हो ।

क्रिस लिनले टी–२० क्रिकेटमा भने आठ हजारभन्दा बढी रन बनाएका छन् । यस क्रममा उनले ५ शतक र ५५ वटा अर्धशतक पनि प्रहार गरेका छन् । क्रिस लिन अस्ट्रेलियन बिग बास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान पनि हुन् । उनले इन्डियन प्रिमियर लिगसहित विश्वका धेरै फ्रेन्चाइज लिग पनि खेलिसकेका छन् ।


सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह भन्छन्, ‘बिग बास लिगमा प्रतिष्ठा कमाएका अस्ट्रेलियन खेलाडीलाई भित्र्याउने योजना हामीले पहिलो संस्करणदेखि बनाएको थियौँ । अहिले क्रिस लिनलाई भित्र्याउन पाउँदा निकै खुशी लागेको छ । उनको आगमनले नेपाल प्रिमियर लिगको प्रतिष्ठा पनि बढाउने छ ।’
क्रिस लिनले पनि एनपीएल खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । ‘म नेपाल प्रिमियर लिगमा खेल्न पाउँदा निकै उत्साही छु । नेपाली क्रिकेटप्रेमीहरूको माया पाउनेमा आशावादी छु । नेपालका प्रतिभाशाली खेलाडीहरूसँग खेल्न पाउनु रोमाञ्चक हुनेछ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply