You are currently viewing आज गौरा पर्वको तेस्रो दिनः ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै

आज गौरा पर्वको तेस्रो दिनः ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै

१४ भाद्र,२०८२ः सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् ।
ब्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर साँझो समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए। आज अमुक्ताभरण सप्तमी भएकाले ब्रतालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको उनले बताए ।
‘ठूली गौरा’ को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । ब्रतालु महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।
साउ, अपामार्ग, तीललगायत वनस्पतिले गौराको प्रतिमूर्ती बनाइ पूजाआजा गर्ने चलन रही आएको छ । खेतबारीबाट साउ, अपामार्ग लगायतका वनस्पतीहरूको प्रतिमूर्ती बनाइ आज गौराघरमा गौरा भित्र्याइन्छ । तागाधारी पुरुषहरूले जनै धारण गरे जस्तै महिलाहरूले गौराको समयमा दुबधागो धारण गर्ने परम्परा रही आएको पण्डित जयानन्द भट्टले बताए ।


यसका साथै साँझको समयमा ब्रतालु महिलाहरूले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन ब्रतालु महिलाहरूले धारण गर्ने गर्दछन् । नयाँ दुबधागोहरू आज गौरादेवीमा समर्पण गर्ने र उक्त दुबधागो भोलि अठ्यावाली सकिएपछि धारण गर्ने परम्परा रही आएको छ ।
गौरापर्वको मुख्य दिनका रूपमा रहेको सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरूले राति मिठोमसिनो खाना खाने चलन छ । मौलिक पर्वका रूपमा समेत रहेको गौराको मुख्यदिन भोलि गौराष्टमी अर्थात् अठ्यावालीका दिन महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।
गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी,चैत खेल्ने चलन रही आएको छ । सुदूरपश्चिममा दशैँभन्दा पनि बढी महत्त्व दिइने गौरा पर्वका लागि परदेशीएकाहरू पनि घर फर्किने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply