You are currently viewing आन्दोलनकारीले कैलालीका अधिकांश सरकारी कार्यालय जलाएपछि नागरिकका काम प्रभावित

आन्दोलनकारीले कैलालीका अधिकांश सरकारी कार्यालय जलाएपछि नागरिकका काम प्रभावित

२७भाद्र,धनगढीः कैलालीका धेरै जसो सरकारी कार्यालय खरानी बनेपछि ती कार्यालयबाट नागरिकले प्राप्त गर्ने सेवा प्रभावित भएको छ। सेवाग्राहीको दैनिक भिडभाड रहने महत्वपूर्ण कार्यालयहरू जेनजीको आन्दोलनका क्रममा जलाइएपछि नागरिकको काम प्रभावित भएको हो।
कार्यालयको भौतिक संरचनादेखि लिएर कम्प्युटर, फाइल, कागजातलगायतका सामग्री जलेर खरानी बनेपछि तीन दिनदेखि अधिकांश सरकारी कार्यालयको सेवा ठप्प छन्। भौतिक संंरचना र आवश्यक सामग्री जलेपछि कर्मचारी पनि अलमलमा छन्।
आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय, कैलाली जिल्ला अदालत, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, कैलाली भन्सार कार्यालय, डिभिजन वन कार्यालय, कारागार कार्यालयलगायतका सरकारी कार्यालयलाई जलाएका थिए। यसै गरी प्रदेश संरचना कार्यालय र मन्त्रालय पनि जलाएका थिए। आन्दोलनकारीले गोदावरी नगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिकालगायतका पालिकामा पनि आगजनी गरेका छन् ।


आन्दोलनकारीले आगजनी गरेपछि कैलाली जिल्ला अदालत, मालपोत कार्यालय र यातायात कार्यालयबाट दिइने सेवा अनिश्चित समयका लागि स्थगित गरिएको छ । कैलाली जिल्ला अदालतले मुद्दाका मिसिल, कम्प्युटर, फर्निचर, सर्भर, इजलाससमेत जलेर नष्ट भएको जानकारी दिएको छ। हस्तलिखित सूचना निकाल्दै सो कार्यालयले मुद्दाको सुनुवाइ, दर्ता तथा तारिखसमेतका कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।
सरकारी कार्यालयहरू पूरै खरानी भएका कारण नागरिकलाई सेवा प्रदान गर्ने कुराको कुनै निश्चित नरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए। उनले भने,“भुइँमा बसेर भए पनि सेवा दिन सक्ने अवस्था छैन किनभने हाम्रो कार्यालयको त केही पनि बचेन ।” सरकारी कार्यालयहरूमा के कति क्षति भयो भन्ने यथेष्ट विवरण अझैसम्म आइपुगेको छैन। जिल्ला प्रशासन कार्यालयले विभिन्न कार्यालयका प्रमुखलाई सम्पर्क गरेर आआफ्ना कार्यालयको क्षतिको विवरण पठाउन आग्रह गरेको छ।
आन्दोलनकारीले अत्यधिक सरकारी सवारीसाधन पनि जलाएका छन्। सरकारी सम्पत्तिमाथि गरिएको आगजनीबाट भएको क्षतिको अहिलेसम्म कुनै लेखाजोखा नरहेको सूचना अधिकारी जोशीले बताएका छन्। उनले सबै कार्यालयबाट क्षतिको विवरण माग गरेको जानकारी दिए।


जेनजीको भनिए पनि आगजनी गर्ने कार्यमा बाह्य व्यक्ति संलग्न रहेको आन्दोलनमा सहभागीले बताएका छन् । भन्सार, आन्तरिक राजस्व कार्यालयलगायतका विशेष विशेष कार्यालयमा आगो लगाउने काम नेपालमा व्यापार गरिरहेका भारतीय मूलका बाह्य व्यक्तिहरुले गरेको उनीहरूको जिकिर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply