एजेन्सी – इङ्ग्ल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । मोइनले आइतवार सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । मोइनले इङ्ग्ल्यान्डका लागि सन् २०१४ देखि २०२४ सम्म २ सय ९८ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । मोइनले २०२४ को आइसिसी पुरुष टि ट्वान्टी विश्वकपमा अन्तिम पटक खेलेका थिए ।

‘म ३७ वर्षको भएँ र यो महिना हुने अस्ट्रेलिया शृंखलाका लागि छनोट भएको छैन । मैले इङ्ग्ल्यान्डका लागि धेरै क्रिकेट खेलेको छु । यो अर्को पुस्ताको लागि समय हो । यो समय सही छ जस्तो लाग्यो। मैले राष्ट्रिय टोलीबाट आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेको छु,’ मोइनले भने ।
मोइनले २०१४ मा वेस्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले ६ हजार ६ सय ७८ अन्तर्राष्ट्रिय रन बनाउनुका साथै ३ सय ६६ विकेट लिएका छन् । उनले सिनियर पुरुष टोलीबाट सन् २०१९ को क्रिकेट विश्वकप र २०२२ को टि ट्वान्टी विश्वकप जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?