फाल्गुन २८,धनगढी : धनगढी उपमहानगरपालिका वडा न ५ हसनपुरमा रहेको एक्सिस विद्याश्रम माध्यमिक विद्यालयमा “Her Voice , Her Power Shaping Tomorrow Together” भन्ने मुल नाराका साथ नारी शसक्तीकरण बारे प्यानलगत छलफल कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । मंगलबार एक्सिस विद्याश्रमको प्रांगणमा सम्पन्न उक्त कार्यक्रम अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ ।कार्यक्रमा पछिल्लो समय समाजको नेतृत्वदायी भूमिकामा महिला भूमिका कस्तो छ ? समाजमा महिला स्थापति हुन कति सजिलो गाहृो छ ? चुनौती र अवसर के के हुन भन्ने बारे छलफल भएको थियो ।
एक्सिस विद्याश्रमकी संस्थापक प्राचार्य अनिता पन्तको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा राजनीति,शैक्षिक,वित्तीय र उद्यमशीलता क्षेत्रका समाजमा अग्रणी भूमिका खेल्ने प्रेरणादायी महिलाहरूको उपस्थिति रहेको थियो ।
प्यानलगत अन्तरक्रिया कार्यक्रममा राजनीतिक क्षेत्रबाट धनगढी उपमहानगरपालिकाकी पूर्व नगरउपप्रमुख शुशिला मिश्र भट्ट,शैक्षिक क्षेत्रबाट भक्तपुर क्याम्पसकी समाजशास्त्रकी सहप्राध्यापक पुनम पन्त,बैंक तथा विक्तीय क्षेत्रबाट एनएमबी बैंक धनगढी शाखाकी प्रबन्धक सफल महिला बैंकर नन्दा भण्डारी र उद्यम तथा व्यवसाय क्षेत्रबाट फेसन तथा कपडा उद्योगकी उदीयमान उद्यमी पुनम खड्काले आ आफ्नो क्षेत्रमा सफल बन्नका लागि गरेको संघर्ष,मिहनेत र आफ्ना जिवन भोगाइका अनुभवहरु उपस्थित विद्यार्थीहरूलाई सुनाएका थिए ।
विद्यालयकी संस्थापक प्राचार्य अनिता पन्तले विद्यार्थीहरुलाई किताब मात्र पढाउनुभन्दा पनि एक्सिसले उनीहरुलाई जिवन पनि पढाईरहेको बताएकी छन । उनले आफ्नो विद्यालयले विद्यालयको वार्षिक क्यालेण्डर अन्तर्गत नै हरेक महिना कुनै न कुनै सृजनात्मक कार्यक्रम गर्दै आएको र त्यसकै शिलशिलामा यसपटक नारी शसक्तीकरण बारे प्यानलगत छलफल कार्यक्रम आयोजना गरेको बताइन ।
प्राचार्य पन्तले किताबी ज्ञानसँगसँगै यस्ता कार्यक्रम आयोजना गर्दा सफल व्यक्तीहरुको संघर्ष र सफलताका कथाबाट विद्यार्थीहरुमा हौसला तथा प्रेरणा मिल्ने भएकाले पनि विद्यालयले निरन्तर सृजनात्मक कार्यक्रम आयोजना गर्दै आएको बताइन ।
कक्षा ९ र ११ का गरी करिबन १७५ जना छात्रछात्राहरु र विद्यालयमा कार्यरत कर्मचारीहरु सहभागी उक्त कार्यक्रममा सहजकर्ता रूपमा विद्यालयकै विद्यार्थीहरू अपेक्षा सावद,पूर्णिमा भट्ट,आरोही शाह र जानकी भट्ट रहेका थिए ।
गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा अब्बल रहेको एक्सिस विद्याश्रम धनगढीको प्रतिष्ठित विद्यालयको रुपमा चिनिन्छ । हाल विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म करिबन ३ हजार विद्यार्थी अध्ययनरत छन भने १५० जना कर्मचारी कार्यरत छन । विद्यालयले नर्सरीदेखि कक्षा १० सम्म हसनपुरबाट पठनपनठन गर्दे आएको छ भने कक्षा ११ र १२ को पढाइ तानानगरबाट गर्दे आएको छ ।