फाल्गुन १०,धनगढी : धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग –३ मा समूह सी अन्तर्गत आज सम्पन्न प्रतियोगीताको आठौं खेलमा बाजुराको त्रिवेणी नगरपालिकाको टिम विजयी भएको छ । त्रिवेणीले वेदकोटलाई ६ विकेटले पराजित गर्दै प्रतियोगीतमा सुखद सुरुवात गरेको छ । त्रिवेणीलाई जिताउन राजु रिजालले अविजित ४१ रनको पारी खेले भने दिपक टमाट्टाले ५ विकेट चट्काए । टमाट्टा प्रतियोगीतमा ५ विकेट लिने पहिलो बलर बनेका छन ।
वेदकोट नगरपालिकाले प्रस्तुत गरेको ११९ रनको लक्ष्य त्रिवेणीले १५.५ओभरमा ४ विकेट गुमाउँदै १२२ रन बनाएर पूरा गर्यो । त्रिवेणी नगरपालिकाका लागि राजु रिजालले उत्कृष्ट ब्याटिङ गरे । ३० बलको सामना गरेका रिजालले ३ चौका र २ छक्काको मद्दतले ४१ रनको अविजित पारी खेले । त्यस्तै सुमित श्रेष्ठले २१ रन बनाउँदा तुल बहादुर थापा १९ रनमा अविजित रहे । विजय राना र शुशिल खड्काले समान १६ रन बनाए । वेदकोट नगरपालिका लागि लक्ष्मण खडायतले २ तथा विवेक बोहरा र महेश बिष्टले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेदकोट नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । वेदकोटका लागि विशाल बोहराले सर्वाधिक ३६ रन बनाए । दिपक बोहराले २४ रन बनाउँदा कृष्ण बिष्ट १७ रनमा अविजित रहे भने महेश बिस्ट १६ रनमा पवेलियन फर्किए । त्रिवेणी नगरपालिकाका लागि दिपक टमाट्टाले ५ विकेट चट्काए । ४ ओभर बलिङ गरेका दिपकले ५ विकेट चट्काउँदा केबल १६ रन खर्चिए । टमाट्टा म्यान अफ दी म्याच चुनिए । त्यस्तै लोकेन्द्र चन्दले २ विकेट लिदा विशाल आचार्यले १ विकेट हाँसिल गरे । समूह ए बाट गोदावरी नगरपालिकाको टिम र समूह बी बाट पुनर्वास नगरपालिका बी समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेका छन ।

धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ए मा गोदावरी नगरपालिका,पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका,समूह बी मा घोडाघोडी नगरपालिका,जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी,समूह सी मा त्रीवेणी गाउँपालिका,वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका,लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन ।

लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५ १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।