फाल्गुन ११,धनगढी : धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को नवौं खेलमा डडेल्धुराको पर्शुराम नगरपालिका विरुद्ध कैलालीको लम्की नगरपालिकाले सहज जित निकालेको छ । समूह डी अन्तर्गत प्रतियोगीतामा पहिलो खेल खेलको लम्कीले पर्शुरामलाई ११ रनले पराजित गर्यो ।
लगातार दोश्रो खेलमा पराजय व्यहोरेको पर्शुराम प्रतियोगीताबाट बाहिरिएको छ । समूह डी कै अघिल्लो खेलमा शुक्लाफाँटा नगरपालिका विजयी भएको थियो । अब लम्की र शुक्लाफाँटा बीच खेलिने खेलको विजेता टोली सेमिफाइन प्रवेश गर्नेछ । लम्कीलाई जित दिलाउन डम्मर माझीले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका माझीले १२ रन खर्चर्दै ३ विकेट चट्काए । माझी म्यान अफ दी म्याच चुनिए । त्यस्तै ३.४ ओभर बलिङ गरेका कवि बमले १८ रन खर्चेर ३ विकेट नै चट्काए । शुरेश भण्डारीको नाममा २ विकेट रहँदा दिपक शाहीले १ विकेट लिए ।


धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ए मा गोदावरी नगरपालिका,पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका,समूह बी मा घोडाघोडी नगरपालिका,जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी,समूह सी मा त्रीवेणी गाउँपालिका,वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका,लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन ।
