छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ आज हुँदै छ । कैलालीको धनगढी रंगशालामा बेलुका ५ बजेदेखि अवार्ड कार्यक्रम सुरु हुने आयोजक खेलकुद पत्रकार मञ्चले जनाएको छ । धनगढी रंगशालमा गएर प्रत्यक्ष रुपमा अवार्ड कार्यक्रम हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने छ । टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ । आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । अवार्डमा विभिन्न सांगितिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । गायक दुर्गेश थापाको पनि प्रस्तुति रहने मञ्चले जनाएको छ ।
यस्तै कार्यक्रममा मञ्चले आठ विधामा अवार्ड प्रदान गर्नेछ । छ विधाको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष खेलाडी पुरुषको मनोनयनमा खोखोका हेमराज पनेरु, करातेका मोहमद शेखु आलम र भलिबलका अर्जुन नेपाली परेका छन् । वर्ष खेलाडी महिलाको मनोनयनमा खोखोकी मानमती धामी, कबड्डीकी मानमती बिष्ट र बक्सिङकी स्वस्तिका तिरुवा परेका छन् । वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउँद, फुटबलका निराजन धामी र कबड्डीका, सुशील चुनारा परेका छन् । यस्तै, वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीकाय विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छिन् ।
सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी, सावित्री धामी मनोनयनमा परेका छन् । स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेताको नाम भने अवार्डकै दिन घोषणा गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०/२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।


अवार्डलाई चैतन्य पाठशाला, सीपी अस्पताल, मायामेट्रो अस्पताल, निसर्ग अस्पताल, बिवाइडी मोटर, ठाकुर एग्रो इन्ड्रष्टिज, नवजीवन सहकारी र हिमालयन गौरीशंकर डेन्टलले पनि प्रायोजकका रुपमा साथ दिएका छन् । यस्तै फुड पार्टनरका रुपमा पोटली फुड्स, इन्टरनेट पार्टनरका रुपमा भायानेट र हस्पिटालिटी पार्टनरको रुपमा होटेल डिभोटी जोडिएको छ ।




