वैशाख १७,धनगढी : आगामी वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा पनि क्रिकेट समावेश हुने भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) र आइची नागोया एसियन गेम्स आयोजना समितिबीचको बैठकले यो निर्णय गरेको हो । एसियाली खेलकुद आगामी वर्ष सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुनेछ ।

ओसिए जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्पोर्टस कार्यक्रमको तयारीसँगै आइचि नागोया एसियन गेम्स बोर्ड अफ डाइरेक्टर्सको ४१औं बैठकमा क्रिकेट र मिक्स्ड मार्सियल आर्ट्स खेललाई औपचारिक रूपमा स्वीकृति दिइएको छ ।’ क्रिकेट ट्वान्टी-२० फर्म्याटमा हुनेछ । पछिल्लो पटक सन् २०२३ मा भएको हाङ्झाउमा एसियाली खेलकुदमा क्रिकेट समावेश गरिएको थियो ।
कति देश सहभागी हुने भन्ने निर्णय यसै साता हुने बैठकमार्फत तय गरिनेछ । पछिल्लो हाङ्झाउ एसियाली खेलकुदमा १४ पुरुष र ९ महिला टोलीले क्रिकेट खेलेका थिए । पुरुषतर्फ नेपालले पनि प्रतिस्पर्धा गरेको थियो । हाङ्झाउ एसियाली खेलकुदमा महिला तथा पुरुष दुवैतर्फ भारतले नै स्वर्ण पदक जितेको थियो । जसमा नेपाले मंगोलिया विरुद्ध सर्वाधिक रनको विश्वकिर्तिमान बनमएको थियो भने भारतसँग पराजित भएको थियो ।क्रिकेट आइचि प्रिफेक्चरमै हुने भए पनि स्थान तोकिएको छैन ।ओसिएका अनुसार दक्षिण एसियामा क्रिकेटको लोकप्रियता र सन् २०२८ को लस एन्जलस ओलम्पिकमा ट्वान्टी-२० क्रिकेट समावेश हुने भएपछि खेलमा चासो उच्च रहने अपेक्षा गरिएको छ । एसियाली खेलकुदमा ४१ वटा खेल समावेश हुनेछन् । एसियाली खेलकुद आयोजना गर्ने नागोया जापानको तेस्रो सहर हुनेछ, यसअघि सन् १९५८ मा टोकियो र १९९४ मा हिरोसिमाले प्रतियोगिता आयोजना गरेका थिए ।