एजेन्सी –एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने एसिया कप २०२५ मा भारत र पाकिस्तान एकै समूहमा परेका छन् । एसिसीले शनिवार जारी गरेको एसिया कपको समूह विभाजनमा भारत र पाकिस्तान एकै समूहमा रहेका हुन् । आगामी सेप्टेम्बर ९ देखि सेप्टेम्बर २८ सम्म युएईमा आयोजना हुने २०२५ पुरुष एसिया कपमा भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । भारत र पाकिस्तानबीचको समूह चरणको खेल सेप्टेम्बर १४ मा हुनेछ ।

केहीदिन अघि बसेको एसीसीको बोर्ड बैठकले १७औं संस्करणको एसिया कपको मिति घोषणा गरेका थिए । टि ट्वान्टी विश्वकपलाई ध्यानमा राख्दै, प्रतियोगिता टि ट्वान्टी आई ढाँचामा खेलाइनेछ । एसिया कपमा पहिलो पटक आठ टोलीहरू समावेश हुनेछन् ।भारत र पाकिस्तान बाहेक, समूह ‘ए’ मा ओमान र आयोजक युएई समावेश छन्। समूह ‘बी’ मा अफगानिस्तान, श्रीलंका, बंगलादेश र हङकङ छन् । सेप्टेम्बर ९ मा अफगानिस्तान र हङकङबीच प्रतियोगिताको उद्घाटन खेल हुनेछ ।

प्रत्येक समूहका शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्ने छन् । सुपर चारको शीर्ष स्थानमा रहने दुई टोलीका बीचमा फाइनल खेल हुनेछ । एसिया कप २०२५ को फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ ।एसिया कपमा एसियाका टेस्ट मान्यता पाएका पाँच देश (भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानीस्तान) तथा एसिसी प्रिमियर कपमा शीर्ष तीनमा आएका राष्ट्रहरु (युएई, ओमान र हङकङ) बीच प्रतिस्पर्धा हुनेछ । नेपाल भने गत वर्षको एसिसी प्रिमियर कपमा शीर्ष तीनमा अटाउन नसक्दा एसिया कपमा सहभागी हुन सकेन ।

भारत एसिया कपको डिफेन्डिङ च्याम्पियन हो । जसले २०२३ मा अघिल्लो संस्करणको फाइनलमा श्रीलंकालाई हराएको थियो । श्रीलंकाले २०२२ मा फाइनलमा पाकिस्तानलाई हराउँदै अघिल्लो टि ट्वान्टी संस्करणको एसिया कप जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?