कार्तिक ४,धनगढी: नेपालले अमेरीकालाई १७१ रनको लक्ष्य दिएको छ । अमेरीकाको ग्राण्ड पेरी स्टेडियम टेक्सासमा नेपालका कप्तान रोहित पौडेलले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । २० ओभर ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७० रन बनायो । नेपालका लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका भुर्तेलले आक्रामक ब्याटिङ गरे । उनले ५४ बलमा ७ चौका र ६ छक्काको मद्दतले ९२ रनको अविजित पारी खेले । ओपनर आशिफ शेख सस्तैमा आउट भएर दबाबमा रहेको नेपालको इनिङ उकास्ने क्रममा भुर्तेलले ३३ बलमै अर्धशतक हिर्काएका थिए ।

नेपालका लागि ओपनर अनिल शाह २५,आशिफ शेख १ र गुल्शन झाले १९ रनको पारी खेले । त्यस्तै कप्तान पौडेल ११ बलमा १६ रन,दिपेन्द्र सिंह ऐरी २ रन,आरिफ शेख १ रन र करण केसी ६ रनमा अविजित रहे । अमेरिका लागि जस्दिप सिंह र केन्जिगेले २ २ तथा सौरभ नेत्रवलकरले १ विकेट लिए । नेपाल विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने अलि खान भने विकेटविहिन रहे । ३ खेलको टि २० सिरिजमा नेपाल १ ० ले अगाडी छ । पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो ।
एक दिवसियमा नेपाल र अमेरीका थुप्रैपटक आमुन्ने सामुन्ने भएपनि टि२० आइमा भने यो पहिलो सिरिज हो । तेश्रो तथा अन्तिम खेल कार्तिक ५ गते हुनेछ । यो सिरज पछि नेपालले अमेरीकामै विश्व क्रिकेट डिभिजन लिन अन्तर्गत तेश्रो चरणमा स्कटल्याण्ड र अमेरीका विरुद्ध खेल्नेछ ।