वैशाख १३,धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका–बिचुवा निवासी सुरज राना अहिले श्रीलंकामा भिक्षु ९भन्ते० विजय वन्सका रुपमा बौद्ध दर्शन प्रचारमा समर्पित छन्। सन् २००८ मा अध्ययनका लागि लुम्बिनी पठाइएका सुरज राना पछि बौद्ध शिक्षाको सिलसिलामा श्रीलंका पुगेका थिए। हाल उनी श्रीलंकाको मयुरपादस्थित पिरिवेन विहारमा अध्ययन तथा साधनामा लागिपरेका छन्। कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा र पशु अधिकारकर्मी हरि प्रसाद जोशीले हालै भिक्षु वन्ससँग विहारमै भेट गरी बौद्ध दर्शन, अध्ययन तथा सामाजिक चेतनाका विविध विषयमा गहन छलफल गरेका छन्। भिक्षु वन्सले इच्छुक विद्यार्थीलाई पठनपाठनका लागि आवश्यक व्यवस्था मिलाउन सकिने जानकारीसमेत दिएका छन्। सात्विक खानाको साथमा आजको दिन विहारमै बितेको मेयर ओझाले बताएका छन्।
यसअघि श्रीलंकास्थित नेपाली राजदूतावासमार्फत कृष्णपुर नगरपालिकाका एक भिक्षु श्रीलंकामा रहेका छन् भन्ने जानकारी भएपछि सम्पर्क स्थापित भएको थियो। मेयर ओझाले भिक्षु वन्सप्रति सत्कार, सम्मान र हार्दिक नमन व्यक्त गरेका छन्। भिक्षु विजय वन्सको जीवनयात्रा अध्ययन, साधना र सेवामा समर्पित रहेको बताइएको छ।