कैलाली जिल्लामा फुटबलजन्य गतिविधिलाई सकृय बनाउन जिल्ला फुटबल संघ कैलाली र चैतन्य पाठशाला बीच सम्झौता भएको छ । मंगलबार धनगढी–५ शिवनगरस्थित चैतन्य फुटसल ग्राउन्डमा आयोजित एक कार्यक्रमका बीच कैलाली जिल्ला फुटबल संघका तर्फबाट अध्यक्ष अनिल मल्ल र चैतन्य पाठशालाका तर्फबाट सिइयो गणेश प्रसाद जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । हाललाई सम्झौता २ वर्ष कायम गरिएको र आवश्यकता अनुसार थप्दै जाने बताइएको छ ।

चैतन्य पाठशाला र केडिएफए बीच भएका मुख्य सम्झौताहरु:
१) हरेक वर्ष चैतन्य पाठशालाको आयोजना र जिल्ला फुटबल संघ कैलालीको प्राविधिक सहयोगमा चैतन्य फुटबल प्रिमियर लिग आयोजना हुनेछ । सो फुटबल प्रिमियर लिगमा आर्थिक तथा अन्य क्षेत्रको व्यवस्थापन चैतन्य पाठशालाले गर्नेछ भने प्राविधिक क्षेत्रको सबै व्यवस्थापन जिल्ला फुटबल संघ कैलालीले गर्नेछ ।
२) जिल्ला फुटबल संघ कैलालीमा आबद्ध भएर विशुद्ध फुटबलमा लागेका खेलाडीहरुका बालबालिकालाई चैतन्य पाठशालाले ५० प्रतिशत छात्रवृतिमा पढाउने गरी दुवै पक्षबीच सम्झौता भएको छ ।
३) जिल्ला फुटबल संघ कैलालीले आयोजना गर्ने जुनसुकै प्रतियोगीता वा गतिविधिमा चैतन्य पाठशालालाई सहयोगी संस्थाको रुपमा रहनेगरी सम्झौता गरिएको छ ।
४) खेलकुदमा युवाहरुलाई बढीभन्दा सहभागीता गराउने,क्षमता अभिवृद्धिका लागि तालिम तथा गोष्ठि आयोजना गर्ने,कैलाली जिल्लाको महिला फुटबल विकासका लागि विशेष कार्यक्रमहरु आयोजना गर्ने दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
कैलाली जिल्लामा समग्र फुटबलको विकासका लागि चैतन्य पाठशालासँग सम्झौता गरिएको र यो सम्झौता ऐतिहाँसिक भएको कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले जानकारी दिए । अध्यक्ष मल्लले कैलाली जिल्लाभरीमै पछिल्लो समय पढाइसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि चैतन्य पाठशाला अब्बल देखिएकोले केडिएफए सहकार्य गर्न इच्छुक भएको बताएका छन ।

मल्लले चैतन्य पाठशालालाई कैलाली जिल्लामा मात्र नभई अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने सबैखाले कार्यक्रममा कुनै न कुनै माध्यमबाट सहभागी गराउने पनि बताएका छन ।

सम्झौतापछि बोल्दै चैतन्य पाठशालाका सिइयो गणेश प्रसाद जोशीले शिक्षा र खेलकुद समाजका अभिन्न अंग भएकाले सँगसँगै हिड्नुपर्छ भनेर कैलाली जिल्ला फुटबल संघसँग सम्झौता गरिएको बताए ।

सिइयो जोशीले चैतन्य पाठशालाले आगामी खेलकुदको नेतृत्व गर्नुपर्छ भनेर दिर्घकालिन योजनाका साथ चैतन्य स्पोटर्स एकेडेमी नै दर्ता गराएर अघि बढीरहेको भन्दै कैलाली जिल्ला फुटबल संघसँग गरिएको सम्झौताले आफ्नो योजनामा नयाँ इटा थपेको बताएका छन । उनले विशेष गरी कैलाली जिल्लाको फुटबलको विकास र विस्तारका लागि केडिएफएसँगको सम्झौता ऐतिहाँसिक भएको भन्दै चैतन्य पाठशालालाई विश्वास गरी सहकार्य गर्नुभएकोमा केडिएफलाई धन्यवाद व्यक्त गरेका छन ।

सम्झौता कार्यक्रमा चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा,अभिभावक संघका अध्यक्ष ईश्वर गिरी लगायत सहभागी थिए भने केडिएफएको तर्फबाट महासचिव ललित मिश्र,कोषाध्यक्ष भागीराम चौधरी लगायत जिल्ला कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त सम्झौता कार्यक्रमको सञ्चालन चैतन्य पाठशालाका निर्देशक कटक बहादुर सिंहले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?


