माघ ६,धनगढी : भारतमा जारी पहिलो संस्करणको खो खो विश्वकप अन्तर्गत महिलातर्फ नेपाल उपविजेता बनेको छ ।केहिबेर अगाडी सकिएको फाइनलमा घरेलु टोली भारतसँग पराजित भएपछि नेपाल उपविजेता बनेको हो । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा नेपाल भारतसँग ७८-४० ले पराजित भएको हो । फाइनलमा भारतसँग हारेपनि यो नेपालका लागि ऐतिहाँसिक उपलब्धी हो ।
आयोजक राष्ट्र भारतको महिला टोली अपराजित रहँदै च्याम्पियन बनेको हो । महिलातर्फ नेपाल र भारत दुवै टोली अपराजित रहँदै फाइनल पुगेका थिए ।महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३-२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो ।

त्यसैगरी क्वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा नेपालले युगाण्डालाई ८९-१८ ले पराजित गरेको हो । पहिलो संस्करणको विश्वकपमा फाइनलसम्म पुगेर नेपाली महिला खो खो टोलीले नेपाललाई विश्वभर परिचित गराएको छ । नेपाली पुरुष टोलीले केहिबेरमा भारतसँगै फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।