गजल १)
बेला बेला टुक्रिन्छ की भन्ने पिर छ
सिसा झै चर्किएको एक तक्दिर छ
आमाको घाउ बल्झाउने एक सिन्दूर पोतेचुरा
अर्को भित्तामा झुण्ड्याको बा को तस्बिर छ
पछाडि बाट कुरा काटेर के पाउँछौं तिमी
बरु बहादुर हुन पाउँछौं काट यहाँ शिर छ
ए मन१घरी भरिन्छस घरी खुम्चिन्छस टुंगो छैन
त भन्दा त बरु त्यो आकाशको चाद स्थिर छ
गजल २)
चिनेर पनि फेरि चिनजान नभएको
म एउटा लास हूँ चिहान नभएको
राखेर भगवान जस्ता बा आमा कतै
ऊ पूजिरहेछ पत्थर भगवान नभएको
सिरानीको कुनै भाग पनि खाली छैन
आँशुले अहिले सम्म डुबान नभएको
गिलासहरू त्यसै हट्ताल गरिरहेछन्
किन आज कतै चियापान नभएको
गजल ३)
आगोले जसरी आगोमा आगो बालेर
तिमी पनि गयौ टाउकोमा आगो बालेर
यी जुनकिरीहरूको मेहनत त्यसै खेर गयो
बेकार गरेछु मैले अँध्यारोमा आगो बालेर
आँखाहरूको जमातको विरोधमा अन्धाहरुले
विरोध गरेछन उज्यालोमा आगो बालेर
म पागलपन सिमा यसरी नाघिरहेकी छु
हावाको इन्तजारमा छु दियोमा आगो बालेर
खै कसरी पुग्न सक्लान खुट्टाहरू गन्तव्यमा
बसेका छन् चप्पलहरु बिच बाटोमा आगो बालेर
गजल ४)
तिमी भन्छौ कसैको मुटुमा बस्न नसकेको
म पनि एक कसिंगर हूँ आँखामा पस्न नसकेको
पानीको व्यापार सुरु भएदेखि हो किनारहरूमा
यी आँखाहरू बाट पनि आँशु खस्न नसकेको
नसोध मलाई तेरो परिचय के हो भनेर रु
म त्यही रातो रंग हूँ बिधुवाले घस्न नसकेको
दुश्मनी निभाउने पनि त कला चाहिन्छ, महोदय
एक हुल भ्यागुता अझै छ सर्पले डस्न नसकेको
था भएकै हो वाधिएपछि काटिनु पर्छ छुट्टिनु पर्छ
त्यही डरले हो मैले सम्बन्ध कस्न नसकेको
गजल ५)
टाल्नुथ्यो पालैपिच्छेका प्वालहरू टालेनन्
यी ढुङ्गाहरुले पनि आफ्नो मुटु पगालेनन्
आजै थिए प्यासी यी बन्जर बगरहरु
आजै मेरा आँखाहरूले आँशु खसालेनन्
रात अन्त्य भएजस्तो निर्जन बस्तीहरूमा
किन आज मान्छेहरूले बत्ती बालेनन्?
तिमी मात्रै हो अग्लो हुन बा को काध चढ्ने
हिमाल आफै अग्लिएको हो कसैले उचालेनन्
कुश्मा भट्ट पछिल्लो पुस्ताकी लोकप्रीय गजलकार हुन । लामो समय धनगढीमा बसेर साहित्यमा कलम चलाइरहेकी भट्ट डोटीकी स्थायी बासिन्दा हुन । अहिले सुदूरपश्चिमका विभिन्न कार्यक्रमा उनलाई गजल वाचनको लागि निमन्त्रणा आउने गरेको छ । हाल कुश्मा भट्ट गृह जिल्लाकै एक विद्यालयमा अध्यापन गराउँदै आएकी छन ।