३भाद्र २०८२ः प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायली बन्धकको रिहाइका लागि मध्यस्थकर्ताले प्रस्ताव गरेको नयाँ योजना स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मिस्र र कतारद्वारा अगाडि सारिएको प्रस्ताव अमेरिकाका दूत स्टिभ विटककको जुन महिनामा प्रस्तुत प्रस्तावको रुपरेखामा आधारित रहेको बताइएको छ। प्रस्ताव अनुसार पहिलो चरणमा ६० दिनको युद्धविराम लागू हुनेछ। त्यसपछि हमासको नियन्त्रणमा रहेका ५० इजरायली बन्धकमध्ये २० जना जीवित व्यक्तिहरूलाई दुई चरणमा रिहा गरिनेछ। यसपछि थप युद्धविरामका लागि वार्ता अघि बढाइनेछ।
हालसम्म इजरायल सरकारको तर्फबाट यसबारे आधिकारिक प्रतिक्रिया आएको छैन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सबै बन्धकको रिहाइ भएपछि मात्र कुनै सम्झौतामा तयार हुने धारणा अघिल्लो साता सार्वजनिक गरेका थिए। यसैबीच, हमासको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पनि नेपालले कूटनीतिक पहल तीव्र पारेको छ। विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले हालै इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग तेलअभिभमा भेट गर्दै विपिनको शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। विपिन जोशी हमासद्वारा सन २०२३ अक्टोबरमा इजरायलमा भएको आक्रमणका क्रममा अन्य सात नेपालीसँगै अपहरणमा परेका थिए। विपिनको रिहाइका लागि नेपाल सरकार, परिवारजन र नेपाली समुदायले निरन्तर पहल गरिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?