फाल्गुन १६,धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा न ३ को फोहोर व्यवस्थापन केन्द्रको पछाडीपट्टी रहेको खुल्ला जमिनलाई गोदावरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अगाडि बढेको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द तथा सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका अध्यक्ष बासुदेव जोशीले गोदावरी नगरपालिकाद्वारा प्रस्तावित ‘गोदावरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को स्थलगत निरीक्षण गरेका हुन ।
गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले निरीक्षण टोलीलाई स्वागत गर्दै रंगशाला निर्माणका लागि नगरपालिकाले आवश्यक पहल गरिरहेको जानकारी गराए । उनले स्थानीय सरकार खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले क्रिकेट मैदान निर्माणलाई विशेष प्राथमिकता दिइएको बताएका छन ।

भट्टले गोदावरीमा क्रिकेटको लोकप्रियता बढ्दै गएकाले प्रदेशस्तरीय खेलमैदान निर्माणका लागि सर्वेक्षण सम्पन्न भइसकेको उल्लेख गरे । खेलमैदान निर्माणका लागि फोहोरमैला व्यवस्थापन केन्द्र पछाडि रहेको ४६ विघा जमिन प्रयोग गरिनेछ, जसका लागि कुनै रुखसमेत काट्न नपर्ने उनले बताए । नगरपालिकाको बजेट मात्र पर्याप्त नहुने भएकाले अन्य निकायहरूसँग सहकार्य गर्ने योजना बनाइएको छ । नगरप्रमुख भट्टले आगामी पाँचदेखि छ वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने लक्ष्य रहेको जनाए । स्थलगत भ्रमणमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी,कोषाध्यक्ष दिनेश सिंह लगायतको पनि उपस्थिति रहेको थियो ।