माघ २०,धनगढी : अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगीतामा धनगढीको डिसिएले पहिलो जित निकालेको छ । पहिलो खेलमा डडेल्धुरासँग पराजित भएको डिसिए धनगढीले घोडाघोडी–११ लाई ६९ रनले पराजित गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ गर्दै डिसिए धनगढीले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा एक सय ४९ रन बनायो । डिसिएका लागि राजु रिजालले २७ बलमा ३७ रन बनाए । यस्तै लोकेश बमले ३१, अभिषेक पालले २८ र कप्तान नारायण जोशीले ९ बलमा १९ रन बनाए । घोडाघोडीका लागि धर्मराज जोशीले ३ विकेट लिए । नरेन साउँदले दुई विकेट लिए ।
एक सय ५० रनको लक्ष्य लिएर मैदान उत्र्रिएको घोडाघोडी १६.५ ओभरमा सवै विकेट गुमाउँदै ८० रनमा समेटियो । घोडाघोडीका लागि टेक रावतले १८ रन र दिपक टमाट्टाले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । डिसिएलाई सानदार जित दिलाउन ललीत राजवंशीले ३ विकेट लिए । मिलन बोहोरा र राहु भण्डारीले दुई दुई विकेट लिए । खेलमा ३ विकेट लिएका डिसिए धनगढीका ललीत राजवंशी नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
प्रतियोगिता अन्तर्गत भोली दुई वटा खेल हुनेछन् । पहिलो खेलमा फेण्ड्स क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा सिवाईसी अत्तरिया र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौं प्रतिस्पर्धा गर्नेछन् ।नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ । दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना भईरहेको प्रतियोगिताको समुह ए मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन् । यस्तै समुह बी मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।