धनगढी उपमहानगरपालिका वडा न.५ शिवनगरमा रहेको चैतन्य पाठशालाको आयोजनामा विज्ञान–प्रविधि, खेलकुद, कला–संस्कृति, सृजनशीलता र मनोरञ्जनको समन्वयमार्फत ज्ञानको जागरण, संस्कृतिको सम्मान र नवप्रवर्तनको प्रवाह फैलाउने उद्देश्यका साथ चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२ आजदेखि सुरु भएको छ । विद्यार्थी अभिभावक संघका अध्यक्ष इश्वरी गिरीको अध्यक्षतामा सम्पन्न उक्त महोत्सवको समुद्घाटन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले गरेका थिए ।

महोत्सव पुस २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा विद्यार्थीहरूको शैक्षिक, बौद्धिक, वैज्ञानिक, सिर्जनशील र सांस्कृतिक प्रतिभा उजागर गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछन्। विज्ञान प्रदर्शनी, नवप्रवर्तनात्मक प्रस्तुति, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा सिर्जनात्मक गतिविधिहरू महोत्सवका मुख्य आकर्षण रहेका छ्न ।


उद्घाटन समारोहमा थारु समुदायको सखिया नाँच, राना थारु समुदायको होली नाँच, भुवा नाँचलगायत विभिन्न मौलिक सांस्कृतिक प्रस्तुति देखाइएको थियो। महोत्सव परिसर विद्यार्थीहरूले तयार पारेका विविध स्केच, विज्ञान तथा प्रविधि सम्बन्धी सामग्रीहरूले सजाइएको छ,

जसले विद्यार्थीहरूको सृजनशीलता र नवप्रवर्तनलाई उजागर गरेको छ ।

उद्घाटन सत्रमा केहि प्रतिभाशाली विद्यार्थीहरुले आफ्नो बेजोड प्रस्तुति पनि राखेका थिए । आत्मविश्वासी उनीहरुको प्रस्तुतिले उपस्थित दर्शकहरुको ध्यान खिचिएको थियो ।

उद्घाटन समारोहमा प्रदेशसभा सदस्य धर्मराज पाठक र धनगढी उपमहानगरपालिकाका उप–प्रमुख कन्दकला राना कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.लोक बहादुर बिष्ट समेतले शुभकामना राखेका थिए । स्वच्छ प्रतिस्पर्धाबाट अत्यन्तै उर्जाका साथ विद्यालय अघि बढिरहेको भन्दै उनीहरुले चैतन्य पाठशालाले अबको सुदूरपश्चिमको शिक्षा क्षेत्रले नेतृत्व गर्ने बताएका छन ।

कार्यक्रमका समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका पञ्चोदय माविका पूर्व प्राचार्य यादव प्रसाद जोशी,ट्राफिक प्रहरी हवल्दार हेमराज जोशी,पूर्व खेलाडी ठक्कर बम,चैतन्यका पूर्व विद्यार्थी विवेक कठरिया र ज्योतिष सत्यराज अवस्थीलाई सम्मान गरिएको छ ।

उक्त महोत्सवको उद्द्धाटन सत्रमा आमन्त्रि पाहुनाहरुलाई विद्यालयमै तयार पारिएको कोदाको मम,निसौसे,सेलरोटी र अचार नास्ता स्वरुप उपलब्ध गराइएको थियो ।

समारोहमा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले आविष्कार र नव पर्वतनको शिक्षालाई अबलम्बन गर्दै अगाडि बढिरहेकोे बताए । उनले विद्यालय कस्तो हुनुपर्छ भन्ने नमूनाका लागि पनि आफूहरुले दिनरात नभनी अत्यन्तै सकरात्मक सोचका साथ काम गरिरहेको पनि बताए ।

विद्यालयका निर्देशक कटक बहादुर सिंहले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयकी मावि संयोजक हेमा जोशीले गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?