माघ २२,धनगढी : धनगढी उपमहानगरपालिका ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले खो खो विश्वकपमा उपविजेता बनेको नेपाली महिला तथा पुरुष टोलीका सदस्यहरुलाई नगद सम्मान गरेको छ ।
सोमबार पाठशाला प्राङ्गणमा एक भव्य औपचारिक कार्यक्रम आयोजना गर्दै विश्वकपमा सहभागी सुदूरपश्चिमका ७ पुरुष र ५ महिला खेलाडी तथा ३ जना व्यवस्थापक गरी १५ जनालाई नगद जनही ५ / ५ हजार सहित सम्मान गरेको हो ।
खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले सम्मान गरेका हुन । मन्त्री खड्काले निजी क्षेत्रबाट खेलाडीलाई गरिएको सम्मान प्रशंशनीय रहेको भन्दै यसले समाजमा राम्रो सन्देश जाने बताए । मन्त्री खड्काले देशको नाम विश्वभर फैलाएका यस प्रदेशका खेलाडीलाई प्रदेश सरकारले पनि नगद सहित सम्मान गर्ने बताएका छन । सम्मानित हुनेमा पुरुष टोलीका कप्तान हेमराज पनेरु सहित समिर चन्द,विवश चौधरी,सुरज पुजारा,गणेश विश्वकर्मा,जनक चन्द बैतडी र जोगेन्द्र राना रहेका छन भने महिला टोलीकी कप्तान–सरस्वती कडायत सहित मानमती धामी, पूजा वड, खुस्बु राना र वर्षा पण्डित रहेका छन । पाठशालाले टिम ब्यवस्थापक कृष्ण पनेरु र निर्णायक राजकुमार चौधरी तथा खो खो का सुदूरपश्चिम प्रदेश अध्यक्षडा.कृष्ण बहादुर बोहरा लाई पनि सम्मान गरेको छ ।

सम्मानपछि खेलाडीहरुलाई बधाई दिद चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्दै विश्वमञ्चमा देशको नाम रोशन गर्दै खो खो खेलका माध्यमबाट सम्पूर्ण नेपालीहरुलाई गौरवाम्वित गरेको भन्दै आफ्नो विद्यालयले स्वागत तथा सम्मान गरेको बताए । अध्यक्ष जोशीले नेपाली महिला तथा पुरुष खो खो टोलीले विश्वकप जस्तो विशाल मञ्चमा उपविजेता बन्दैे इतिहाँस रचेको बताएका छन । उनले सुदूरपश्चिबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चमा विशिष्ट उपलब्धि हाँसिल गर्ने जुनसुकै विधाका लागि व्यक्तिहरुलाई चैतन्यले सम्मान गर्ने बताए ।

गत जनवरीमा भारतमा आयोजना भएको पहिलो संस्करणको खो खो विश्वकपको पहिलो संस्करणमै नेपाली महिला तथा पुरुष टोलीले उपविजेता बन्दै ऐतिहाँसिक उपलब्धि हाँसिल गरेको थियो । फाइनलमा भने नेपाली महिला तथा पुरुष टोली आयोजक राष्ट्र भारतसँग पराजित हुन पुगेको थियो । समूहगत खेलमा विश्वकप जस्ता ठूलो मञ्चमा खो खो बाहेक कुनैपनि खेलमा नेपालले यतिठूलो उपलब्धि हाँसिल गरेको छैन ।