फाल्गुन १७,धनगढी : च्याम्पियन्स ट्रफीमा उपाधि दाबेदार इङ्ल्यान्डलाई सात विकेटले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ । जितसँगै तीन खेलमा पाँच अंक जोडेको दक्षिण अफ्रिका समूह ‘बी’ को विजेता बन्यो । इङ्ल्यान्ड भने जितविहिन रह्यो ।कराचीस्थित नेसनल क्रिकेट मैदानमा इङ्ल्यान्डले प्रस्तुत गरेको १८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९।१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
दक्षिण अफ्रिकाका लागि रास्सी भान डेर डुसेनले ८७ बलमा ६ चौका र तीन छक्काको मद्दतले अविजित ७२ रनको योगदान गरे । यसैगरी हेनरिक क्लासेनले ५६ बलमा ११ चौकाको मद्दतले ६४ र रायन रिकेल्टनले २७ रन जोडे । तेस्रो विकेटका लागि डुसेन र क्लासेनले १२७ रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि जोफ्रा आर्चरले दुई तथा आदिल रासिदले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले ३८।२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनको योगफल तयार पारेको थियो । इङ्ल्यान्डका लागि जो रुटले ३७, जोफ्रा आर्चरले २५, बेन डुकेटले २४, कप्तान जोस बटलरले २१, ह्यारी ब्रुकले १९ र जिमी ओभरटनले ११ रन बनाए । चौथो विकेटका लागि रुट र ब्रुकले ६२ रनको साझेदरी गरे । दक्षिण अफ्रिकाका लागि मार्को यानसन र वियान मुल्डरले समान तीन, केशव महाराजले दुई तथा लुंगी एनगिडी र कागिसो रबाडाले समान एक विकेट लिए ।