फाल्गुन ०७,धनगढी : आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ । बुधबारदेखि पाकिस्तानमा सुरु भएको च्याम्पियन्स ट्रफी क्रिकेटमा न्युजिल्याण्डले आयोजक तथा साविक विजेता पाकिस्तानलाई ६० रनले हराएको हो ।
न्युजिल्याण्डले दिएको ३२१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा २६० रनमा समेटियो । खुशदिल शाहले सर्वाधिक ६९ रन बनाए भने बाबर आजमले ६४ रन बनाए । त्यस्तै सलमान आघाले ४२ रन बनाए ।

न्युजिल्याण्डका विलियम ओ’रोर्केले ९ ओभरमा ४७ रन दिएर ३ विकेट लिए । कप्तान मिचेल सान्टनरले १० ओभरमा ६६ रन दिएर ३ विकेट लिए । म्याट हेनरीले २ तथा नेथन स्मिथले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले टम लेथम र विल योङको शतकमा ५० ओभरमा ५ विकेट गुमाएर ३२० रन बनाएको थियो । ओपनर योङले १०७ तथा लेथमले अविजित ११८ रन बनाए । पाकिस्तानका लागि नसीम शाहले १० ओभरमा ६३ रन दिएर २ विकेट लिए । त्यस्तै हारिस राउफले १० ओभरमा ८३ रन खर्चेर २ विकेट लिए । अबरार अहमदले १ विकेट लिए।