You are currently viewing ………जब स्वास्थ्यमन्त्री पौडेलले फोन गरेर भने “जानकीजी देशलाई तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ”

………जब स्वास्थ्यमन्त्री पौडेलले फोन गरेर भने “जानकीजी देशलाई तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ”

१५श्रावण,२०८२ः श्रावण १४ गतेका दिन सिगास गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य केन्द्र कन्धारमा कार्यरत अनमि जानकी पुजाराले कृत्रिम श्वास दिएर एक नवजात शिशुको ज्यान बचाएकी थिइन । त्यसपछि उनको कामको चौतर्फी चर्चा भएको थियो । बुधबार स्वास्थ्यमन्त्री प्रदिप पौडेलले उनलाई फोन गरेर बधाइ दिएका छन । मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेखेका छन ।

स्वासप्रस्वासमा जटिल समस्या देखिए पनि भौगोलिक कठिनाइका कारण अस्पताल लैजान नसकिएकी शिशुको जीवनरक्षामा भगवानरुपी योगदान दिन सफल बैतडीको सिगास गाउँपालिका ४ को आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारकी अनमी जानकी पुजारासँग फोनमा कुराकानी गरेर बधाई दिएँ । तमाम असहज र कठिनाइका बाबजुद हामीले स्थानीय तहदेखि प्रदेश र संघका स्वास्थ्य संस्थाको सेवा सुधार तथा विस्तारमा यथाशक्य प्रयत्न गरिरहेका छौं । यस्तोमा नागरिकको जीवनरक्षामा अनवरत खटिइरहने स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण हात छ ।सुख र सुविधा नभनी देशको स्वास्थ्य रक्षामा तल्लिन जानकी र अरु धेरै जानकीहरुप्रति मेरो हृदयदेखी नै सम्मान छ । जानकीजी देशलाई साँच्चै तपाईंहरुजस्तै स्वास्थ्यकर्मीको खाँचो छ । र, तपाईंहरुको योगदानको पक्कै मूल्यांकन हुनेछ ।

गत मंगलबार लक्ष्मी धामीका नवजात शिशुलाई उनले साढे ६ घण्टा कृत्रिम श्वास दिएर ज्यान बचाएकी हुन् । ‘शिशु जन्मेपछि उनलाई श्वास फेर्न समस्या भएको थियो,’ पुजाराले भनिन्, ‘रातिको समयमा अन्य ठाउँ लैजान पनि सम्भव नभएपछि कृत्रिम श्वास दिएर नवजात शिशुको ज्यान जोगायौं ।’

निसास्सिएको शिशुको ज्यान जोगाउन अक्सिजन, एम्बुबेग, सक्सन मेसिन र पेनगुइन मेसिन लगायत उपकरण आवश्यक पर्छ । आधारभूत स्वास्थ्य केन्द्रमा एम्बुबेग बाहेकका अरू स्वास्थ्य सामग्री अभावका बावजुद पनि स्वास्थ्यकर्मी पुजाराले बच्चालाई लामो समय कृत्रिम सास दिएर बचाएकी हुन् । सिगासदेखि नजिकको सुविधासम्पन्न अस्पताल डडेल्धुरा पुग्न ९ घण्टा समय लाग्छ । स्वास्थ्य केन्द्रदेखि सडकसम्म पुग्न नै ५ घण्टा लाग्छ । राति ९ बजेर ३३ मिनेटदेखि बिहान ४ बजेसम्म कृत्रिम सास दिएर शिशुको ज्यान जोगिएको आधारभूत स्वास्थ्य केन्द्र कन्धराका इन्चार्ज चक्रबहादुर धामीले बताए ।

‘स्वास्थ्य केन्द्रमा एम्बुबेग मात्रै थियो, त्यही एम्बुबेगको सहायता र कृत्रिम सासले बच्चाको ज्यान जोगियो,’ उनले भने, ‘दुर्गमका स्वास्थ्यकेन्द्रमा आवश्यक स्वास्थ्य सामग्री हुनुपर्छ ।’ आधारभूत स्वास्थ्य संस्थामा आधारभूत स्वास्थ्य उपकरणको मात्रै व्यवस्थापन गर्न सके स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सकिने इन्चार्ज धामीले बताए । स्थानीय तहभित्रका स्वास्थ्य संस्थाको व्यवस्थापन गर्ने जिम्मा स्वयं स्थानीय तहलाई हुन्छ । सिगास गाउँपालिकाले गत आर्थिक वर्षमा विभिन्न वर्थिङ सेन्टरको स्वास्थ्य सामग्री खरिद र अन्य स्वास्थ्य सामग्री खरिदको लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । स्वास्थ्य संस्थाबाट माग भई आएको सामग्री खरिद गरेर दिने गरेको स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए ।

संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँचको हक सुनिश्चित गरेको छ । दुर्गममा स्थास्थ्य सेवा पुगे पनि स्वास्थ्य सामग्री अभावले नागरिकले आधारभूत स्वास्थ्य सेवाबाटै बञ्चित हुनुपरेको छ । यो समस्या सुदूरपश्चिम र कर्णाली प्रदेशमा अझै व्याप्त छ । यहाँका नागरिक समयमै उपचार नपाएर अकालमै ज्यान गुमाइरहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply