चैत्र ३०,धनगढी : धनगढीको फाप्लामा जारी टिम ११ संस्कार क्रिकेट लिग टि२० खुल्ला क्रिकेट प्रतियोगीतामा कञ्चनपुरको नारायण स्पोर्टस क्लबका सुमित बुडालले टि२० क्रिकेटमा दुर्लभ किर्तिमानी स्कोर बनाएका छन । उनले विपक्षी टिम घोडाघोडी एकेडेमी विरुद्ध २०० रन प्रहार गरेका हुन । नारायण स्पोर्टस एकेडेमीले टस जितेर ओपनर ब्याटरको पठाएका सुमितले ७४ बलमा १८ चौका र १७ छक्काको मद्दतले डबल सेन्चुरी हिर्काए । उनी म्यान अफ दी म्याच पनि चुनिए ।

घरेलु टि २० किर्केटमा यो व्यक्तिगत ठूलो स्कोर मध्येको एक हो । बुडालको डबल सेन्चुरी प्रेरित इलिङको मद्दतले नारायण स्पोर्टस क्लबले प्रतियोगीतामा २६२ रनको शानदार जीत निकालेको छ । नारायण स्पोर्टस क्लबका लागि कप्तान लोकेन्द्र चन्दले ५१ रनको अर्धशतकीय पारी खेले भने विशाल ऐरले २६ रन बनाए । २० ओभर ब्याटिङ गरेको नारायण स्पोर्टसले ४ विकेटको क्षतीमा ३०८ रन बनाएको थियो । घोडाघोडी एकेडेमीका लागि समिर खत्री,सुधांशु रावल,चेतराज भण्डारी र रुद्र प्रसाद आचार्यले समान एक एक विकेट लिए ।

३०९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा घोडाघोडी एकेडेमी ११ ओभरमा ४६ रन बनाएर अलआउट भयो । उस्का लागि भिम बोहराले १२ र भुवन ढकालले १० रन बनाउनु बाहेक अन्य कुनैपनि ब्याटरले दोहोर अंकको रन बनाउन सकेनन । नारायण स्पोर्टस क्लबका लागि आर्यन बिस्टले ६ विकेट चट्काउँदा कप्तान लोकेन्द्र चन्द र रबि बिष्टले समान दुइ दुई विकेट लिए ।

यसअघि धनगढीको फाप्ला खेल मैदानमा टिम ११ संस्कार क्रिकेट लिगका निर्देशक रामचन्द्र शाहीको अध्यक्षतामा एक औपचारिक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रतियोगीताको उद्घाटन गरेका हुन । सुदूरपश्चिमको खेलकुदमा पूर्वाधार राम्रो नहुँदा खेलाडीले आफ्नो वास्तविक खेल प्रर्दशन गर्न नसकेको भन्दै प्रदेश सभा सदस्य देउवाले आगामी आर्थिक वर्षको बजेटमा खेलकुदलाई प्राथमिकतामा राख्ने गरी बजेट विनियोजनको लागि पहल गर्ने बताए । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप बहादुर सुनार र नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य बिक्रम बिस्टले शुभकामना राखेका थिए । प्रतियोगीताको उद्घान सत्रमा खेल क्षेत्रका थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । गोदावरी नगरपालिका वडा न.८ स्याउले बजारमा रहेको संस्कार विद्याश्रम मण्टेश्वरी स्कुलको आयोजनामा सुरु भएको प्रतियोगीताको मुख्य प्रायोजक टिम ११ रहेको छ भने प्रतियोगीतामा धनगढीको चैतन्य पाठशाला,गुरुकुल एकेडेमी धनगढी,मालिकार्जुन हार्डवेयर,कामेक्षा देवी डेरी लगायत विभिन्न संघ संस्थाले साथ दिएका छन । वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा १३ टोली सहभागी छन । प्रतियोगीतामा विजेता टोलीले नगद एक लाख ११ हजार र उपविजेता टोलीले ५५ जहार ५ सय प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?