कैलाली जिल्लाको जानकी गाउँपालिका-४ स्थित जनता नमुना माध्यमिक विद्यालयका एक शिक्षकको शंकास्पद मृत्यु भएको छ। विद्यालयमा १७ वर्षदेखि अंग्रेजी विषय अध्यापन गर्दै आएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको सोमबार राति मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नविनराजा बुढाथोकीका अनुसार घटना शंकास्पद देखिएकाले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिइएको छ। यद्यपि पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा पेयपदार्थमा विषादी मिसाइएको आशंकामा अनुसन्धान अगाडि बढाएको जनाएको छ। सूचना अनुसार शिक्षक पन्त साउन ३ गते बिदा सकेर धनगढीबाट फर्केका थिए। उनीसँगै फर्केका अर्का एक शिक्षकसँगै दुगौली क्षेत्रमा अलग-अलग डेरामा बस्दै आएका थिए। डेरामा पुगेको केही समयपछि पन्तले ती शिक्षकलाई फोन गरी टीकापुर आउन भनेका थिए। जब ती शिक्षक टीकापुर पुगे, पन्त एक होटेलमा छटपटाइरहेको अवस्थामा फेला परे। तत्कालै उनलाई टीकापुर अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?