२भाद्र २०८२ःडोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले आफ्ना वडाबासीलाई गाउँमै सेवा दिन असहज भएकाले सहरमा बसेका नागरिकलाई शिविरमार्फत सेवा दिन थालेको छ।
सोही क्रममा यही भदौ २ गते कैलालीको अत्तरियामा विशेष शिविर सञ्चालन गरिने वडा सचिव विनोद रजवारले जानकारी दिए। उनका अनुसार, कैलाली जिल्लाका विभिन्न ठाउँमा बसोबास गरिरहेका जोरायल–५ का नागरिकलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता तथा परिचयपत्र नवीकरण सेवामा पहुँच सहज बनाउन शिविर सञ्चालन गरिएको हो। “सडकको अवस्था कमजोर भएकाले वृद्धवृद्धालाई गाउँसम्म आउन गाह्रो पर्छ। त्यसैले उनीहरू बसोबास गरिरहेको सहरमै पुगेर सेवा दिन थालिएको हो,” रजवारले बताए।

यसअघि साउन २९ र ३० गते कैलालीकै धनगढीमा दुई दिने शिविर सम्पन्न भएको थियो, जसमा ६० जना ज्येष्ठ नागरिक लाभग्राहीको सामाजिक सुरक्षा परिचयपत्र ‘बायोमेट्रिक’ विधिबाट नवीकरण गरिएको थियो। भदौ २ गते अत्तरियामा हुने शिविरमा सो क्षेत्रमा बसोबास गरिरहेका जोरायल–५ का नागरिकलाई समयमै उपस्थित भएर सेवा लिन वडा कार्यालयले अनुरोध गरेको छ। यस प्रकारको सेवा प्रवाहले विशेष गरी ज्येष्ठ नागरिक लाभग्राहीहरूलाई ठूलो राहत मिलेको छ। उक्त शिविर वडा कार्यालयको पहल जोरायल गाउँपालिकाको पञ्जीकरण शाखाको सहजीकरणमा सञ्चालन भइरहेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?