असोज २२,धनगढी: साहित्यकार सिर्जन अविरलद्वारा लिखित तथागत उपन्यास बुद्घ दर्शनमा आधारित उपन्यास हो। १९२ पृष्ठको यो उपन्यास साङ्ग्रिला मिडिया ग्रुप प्रा. लि. ले २०८१ मा प्रकाशित गरेको छ । तथागत भित्रको गुम्बा यात्रा मैले जति सहज सोचेकी थिएँ त्यति नै कठिन थियो । प्रत्येक पात्रको कुरा सुनेँ । त्यो बाहेक गुरूहरूको प्रवचन पनि सुनेँ । गुरूहरूको मुखबाट निस्केका प्रवचनहरू बसेर सुन्दा समय बितेको चाल पाइनँ । दीपशिखाले फूपूको दुःखको पहाड र पीडालाई देखेर संसारिक बन्धन्बाट अलग हुन खोजिन् अर्थात् शान्तिको खोजीमा निस्किन् । आनी बनिन् । युद्धमा बाआमा गुमाएकी उनी फुफूको घरमा बसेर निम्न वर्गिय परिवारको जीवन भोगाइलाई नजिकबाट नियालिन् । एउटा नारी वा पुरूषको जीवनसाथी रम्रो र भावना बुझ्ने भएन भने जीवन नर्कभन्दा पनि तुच्छ हुन्छ भन्ने आभाष फुपूको जीवन भोगाईबाट थाहा पाउन सकिन्छ ।
कलेजी रङ्को चीवर धारण गरेका भिक्षु र आनीहरूलाई बाहिरबाट देख्दा लाग्छ उनीहरूको जीवन धेरै सुन्दर र शान्त छ । तर, गुम्बामा पसेर उनीहरूको मनभित्र यात्रा गर्दा उनीहरूको मन पनि हामी साधारण मानिसझैँ चन्चल, अधीर, अशान्त, दुःख, पीडाले भरिएको पाएँ । भिक्षु र आनीहरूले संसारलाई बुझेर मोक्ष प्राप्तिको बाटोमा निरन्त, साधना गरिरहन्छन् र मनलाई नियन्त्रणमा राख्छन् । सांसारिक बन्धनबाट मुक्ति पाउँछन् । जुन निकै कठिन कार्य हो । यसको लागि धेरै कुरा त्याग्नुपर्छ ।
सांसारिक मोहबाट वैराग उत्पन्न भएका मानिसहरू प्रायः आनी र भिक्षु बन्न आएका देखिन्छन् । त्यो बाहेक गरिबीको कारणले पनि भिक्षु र आनी बन्न आउँछन् । परम्परा पनि एउटा कारण हो ।
लामा समुदायका छोरीहरूलाई सानैमा आनी बनाउने परम्परा छ । सानैमा संसारिक ज्ञान हुँदैन । जब उनीहरू यौवनावस्थामा पुग्छन् । चित्तलाई नियन्त्रण गर्न सक्दैनन्। उनीहरूको मनमा रहरहरू, बिहे गर्ने इच्छा, विभिन्न आधुनिक पहिरण लगाउने चाहना बढ्न थाल्छ । उनीहरू पछि गुम्बा छोडेर पिरिवारिक जीवन जिउन चाहन्छन् । कतिपय आनी र भन्तेहरूले यही रङ्गिन रहरहरूका कारण गुम्बा त्यागेर गृहस्थ जीवन अपनाएका छन् । परिवारले मान्छेको जीवनमा अहम् भूमिका खेल्छ । आनीहरूले आजीवन अविवाहित बसेर मोक्षको बाटोमा लागे पनि बृद्धावस्थामा उनीहरूलाई पनि परिवार र छोराछोरीको अभावले सताउँछ ।
बुद्ध धर्म कुनै धर्म होइन यो दर्शन हो । तर यसलाई धर्मसँग जोडिएकोमा लेखकले दुःख व्यक्त गरेका छन् । जुन सत्य हो । अवतारी लामाहरूले यसलाई धर्म बनाएर बेच्ने समेत गरेका छन् । धर्मको नाममा प्रवचन दिँदै सुन, चाँदीदेखि अर्थ कमाउने माध्यम बनाएका छन् । धर्मको नाममा राजनीति गर्न पछि नहटेको यथार्थलाई जस्ताको त्यस्तै यस पुस्तकभित्र चित्रण गरिएको छ । बुद्ध दर्शनको नराम्रो पक्ष महिला र पुरूषमा विभेद हुनु हो । सामणेरहरूलाई भिक्षु बन्ने नियम छ तर आनीहरू भिक्षुणी बन्ने नियम छैन । भिक्षुहरू आनीभन्दा सानो उमेरको भए तापनि आनीहरूले उनीहरूलाई आदर गर्नुपर्ने नियम छ तर, आनीहरू बढी उमेरका भए पनि आफूभन्दा सानो उमेरको भिक्षु भए पनि भिझुको आदेशमा हिँड्नुपर्छ भन्ने सत्यतालाई उजागर गरेकोले यो पुस्तक निकै रोचक बनेको छ । बीचबीचमा आनीहरूको प्रसङ्गले पुस्तकमा रोचकता थपिएको छ ।
गुरूले प्रवचन दिइरहेको वेला पुस्तकमा कतै कतै प्रवचन एक अनुच्छेदमा नै टुङ्गयाइएको छ । जुन असहज देखिन्छ । प्रवचन लामो भइदिएको भए पाठकलाई अझैँ खुराक पुग्थ्यो । दिपशिखाको जीवन भोगाईलाई वर्णन गरेजसरी अझैँ रिन्छेन, सारिका र अवतारी गुरूको शोषणमा परेर भागेर गुरूको शरणमा आएका आनीहरूको अतीत अर्थात् गृहस्थ जीवनबारे अझै खुलाएको भए झनै रोचक हुने थियो ।
समग्रमा भन्दा तथागत उपन्यास लेख्न लेखकले गरेको मेहनत अतुलनीय छ । बुद्ध दर्शन, गुम्बा जीवन, भिक्षु र आनीहरूले पालन गर्नुपर्ने नियमहरू यस पुस्तकभित्र अध्ययन गर्दा लेखकले बुद्ध दर्शन सम्बन्क्षी गहन अध्ययन गरेको देखिन्छ । लेखकको यो प्रशंसनीय पक्ष पनि हो । दरबार त्यागेर भिक्षुणी मन्त्र लिने गौतमीको हठ सामान्य थिएन । गौतमीकै कारण आनीहरू गुम्बामा बस्न पाएको प्रसंगले प्रेरणादायी सन्देश दिएको छ भने आनीहरू भिक्षुणी बन्न र प्रवचन दिन नसक्ने नियमले कताकता मनै खिन्न हुन्छ ।
लामो समयदेखि साहित्य खेलनमा सकृय आख्यानकार मुना चौधरी लार पुस्तककी लेखक हुन ।