You are currently viewing तालहरुको जिल्ला कञ्चनपुर /@Kanchanpur

तालहरुको जिल्ला कञ्चनपुर /@Kanchanpur

सुदूरपश्चिम आफैमा सुन्दताको प्रतीक हो । हिमाल, पहाड र तराई स्वरुपमा फैलिएको यस अनुपम धराको वर्णन पुराणकालदेखि नै विद्वान कविहरुले गर्दै आइरहेको पाइन्छ । पुराणहरुमा मानसखण्डका नामले चिनिने यो भूमि देवभूमि, तपोभूमि मात्रै नभएर मानव उत्पत्तिको स्थलका रुपमा पनि चिनिने गर्दछ । प्रकृतिक रुपले सुन्दर यस धराको एक हिस्सा हो कञ्चनपुर र कञ्चनपुरको सुन्दरतालाई बढाएका छन् यहाँका तालहरुले ।


नेपालको पश्चिमी सीमानामा पर्ने कञ्चनपुर नेपालका महत्वपूर्ण पर्यटकीय क्षेत्रमध्ये एक हो । यो जिल्ला प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको अवलोकन तथा भ्रमणका लागि यो महत्वपूर्ण स्थान हो । शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदी, झोलुङ्गे पुल लगायत विभिन्न तालतलैया तथा प्रसस्त प्रचीन मन्दिरहरु रहेको यो जिल्लाको सुन्दरतामा तालहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ । सानाठूला गरी दर्जन बढी तालहरु रहेको यो जिल्लालाई तालहरुको जिल्ला भन्दा पनि फरक नपर्ला । धार्मिक तथा प्रकृतिक महत्वलेयुक्त वेदकोट ताल, झिलमिला ताल, बन्द ताल, रौटेला, रानीताल लगायतका ठूलाठूला तालहरुले यहाँको सुन्दरतालाई श्वर्ग छोएको आभाष गराउँछ । सिद्धवैजनाथको पुण्य भूमिमा रहेका यी तालहरु विशेषगरी चुरेका फेदमा अवस्थित छन् ।

कञ्चनपुरको वेदकोट नगरपालिकामा वेदकोट, बन्द ताल लगायतका तालहरु रहेका छन् भने भीमदत्तनगरमा प्रसिद्ध झिलमिला ताल रहेको छ । जिल्लाको नामजस्तै कञ्चन पवित्र जलले भरिभराउ यी तालहरुले सूर्यमण्डलको आभालाई आफूभित्र समाहित गरेका छन् भने पर्यटकको मनमा कहिल्यै नमेटिने छाप लगाउन सफल भएका छन् । झिलमिला तालमा रहेका विशेष प्रजातीमा समुहमा रहने माछाहरुले तालको सुन्दरतालाई झन् बढाएका छन् भने वेदकाट तालमा डुलिरहेका हाँस तथा बकुल्लाका ताँतीले झन पर्यटकहरुको आकर्षण बढाएको पाइन्छ । यी तालहरु पहाडमा अवस्थित घना जंगलको बीचमा रहेकाले यहाँको सुन्दरतालाई झन् बढाएको छ । आकाशमा डुलिरहेका पंक्षीहरुको छाया तालहरुमै देखिदा होस् या वनजंगलका लत्तालहरा हल्लिदा पानीमा देखिएको सजीव चित्र होस् अत्यन्तै रमाइलो देखिन्छ । एकातिर वन्यजन्तु तथा पशुपंक्षीको आवाजसँगै पर्यटकहरु रमाइलो मान्दै सेल्फी खिचिरहेका तस्बिरहरुले झन यहाँको सुन्दरतालाई बढाएको छ ।

यसरी कञ्चनपुरको सुन्दरतामा महत्वपूर्ण स्थान राख्ने र यसको पहिचान विश्वसामु पुगाउन सक्ने क्षमता राख्ने प्रसस्त तालहरु भएको यस जिल्लालाई तालहरुको जिल्ला भन्दा पनि फरक नपर्ला । यी धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तालहरुको सुन्दरतामा कञ्चनपुर पनि रंगिएको छ । यस्ता प्राकृतिक एवम् धार्मिक सम्पदाहरुको संरक्षण तथा प्रचारप्रसार हामी सबैको कर्तव्य हो ।

Leave a Reply