आश्विन ८, धनगढी
डोटी जोरायलका तिर्थराज भट्टलाई बधाइ ग्रहण गर्न भ्याइनभ्याइ छ । साथीभाई,आफन्तजन र शुभचिन्तकहरुले सामाजिक सञ्जालभरी फोटो पोष्ट गर्दे खुशी व्यक्त गरिरहेका छन । धेरैले फोन मार्फत र भेटेर पनि बधाइ दिइरहेका छन । भट्टले शिक्षक सेवा आयोगले लिएको मावि तहको परीक्षामा सुदूरपश्चिम प्रदेशबाट नेपाली विषयमा एक नम्बरमा नाम निकाल्न सफल भएका हुन । खासमा भट्टले २०७७/०७८ सालदेखि नै माध्यामिक तहमा नाम निकाल्ने मनसाय बनाएका थिए तर त्यो बेला शिक्षणमा पनि व्यस्त अन्य अस्तव्यस्त दैनिकीले खासै तयारी हुन सकेन ।
त्यसपछि उनी माविको तयारी गर्दै गए र शिक्षक सेवा आयोगले २०७९ मा दर्खास्त माग गरेको प्राविको परीक्षामा सामिल भए पहिलो वर्ष नै नाम निकाले, शिक्षक सेवा आयोगले २०८० मा निमावि तहमा विज्ञापन जारी ग¥यो त्यहाँ पनि १ नम्बरमा नाम निकाले । शिक्षक सेवा आयोगले फेरी यसैवर्ष माविको विज्ञापन खोल्यो यहाँपनि उनले १ नम्बरमै नाम निकाले । यसरी हेर्दा पछिल्लो समय उनले गरेको निरन्तरको अभ्यास,अनुभव र मिहनेतले यो सफलता हाँसिल गरेको देखिन्छ ।
२०४९ साल पौष १७ गते डोटीको जोरायल गा.पा. वडा न. ३ बेल्टुक्रामा बुवा भक्तराज र आमा जलन्धराको कोखबाट जन्मिएका भट्टको बाल्यकाल,शिक्षा दिक्षा जोराइलमै भयो । उनले २०६४ सालमा शिवपुर मावि एस.एल.सी,२०६७ सालमा घण्टेश्वर उमाविबाट प्रमाणपत्र तह, २०७० मा घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसबाट नेपाली विषयमा स्नातक र २०७६ सालमा कैलाली बहुमुखी क्याम्पसबाट नेपाली विषयमा नै स्नातकोत्तर पास गरे ।
भट्टले जसरी शैक्षिक योग्यता निरन्तर हाँसिल गरे त्यसै अनुरुप पछिल्लो समय आफ्नो व्यक्तित्व विकास र परिचयमा पनि निरन्तर फड्को मारिरहेका छन । उनी भन्छन मैले कुनै चामत्किारिक काम गरेको होइन,यो जीवनको एक शिलशिला हो,समय अनुसार कर्म गदै गए आज साथीभाइ,शुभचिन्तकले बधाइ दिने माध्यम बन्न सके खुशी छु । भट्टले सफलताका आधारहरुमा आफ्नो शैक्षिक वातावरण,८ वर्ष एरिष्टो माविमा पढाउन पाएको अवसर,साहित्यमा आफ्नो बढ्दो रुची तथा साहित्यिक गतिविध र शुभेच्छुकहरुको सद्भाव भएको बताएका छन ।
मावि तहमा नाम निकाल्न सफल भएपछि भट्टले सामाजिक सञ्जाल फेसबुकमा शुभचिन्तकहरुलाई धन्यवाद दिदै लेखेका छन ।
वास्तविक कुरा यही हो, अन्तर हृदयबाटै भन्छु !
मेरो सफलताको प्रथम आधार ः शुभेच्छुकहरूको सद्भाव नै हो ।

तँ ऐलसम्म क्याद्दा छै ? पढ्ढु पड्यो के ! भन्ने आफन्तहरू,
सबा चेला जागिरी खाना हामरा चेला केइनै, भनी दबाब दिने इजाबा,
तिर्थे उसेरी ठिकै हो भनिदिने र प्रेरित गरिरहने आदरणीय गुरुहरू,
तपाईँ यतातिर लाग्यो भने सजिलै सक्नु हुन्छ यार, भन्ने साथीहरू,
तपाईँको भाषा, साहित्य र लेखन राम्रै छ नि भनी फुर्याउने शुभचिन्तकहरू,
ममा ज्ञानको दायरा बढाउने साहित्यिक अवसर तथा साहित्यकारसँगका सङ्गतहरू,
मेरो सफलताका लागि प्रार्थना गरिदिनुहुने आदरणीय, आत्मीय तथा प्रिय व्यक्तिहरू,
मलाई शिक्षण अभ्यासको मौका दिने विद्यालय र विद्यार्थीहरू !
सकारात्मक प्रयासका लागि मलाई उस्क्याउने, उचाउने, फुर्याउने र मेरो सानो खुसीमा खुसी हुने सम्पूर्ण आदरणीय, आत्मीय र प्रिय व्यक्तित्वहरूमा हार्दिक हार्दिक नमन, सम्मान तथा धन्यवाद !
शिक्षक बन्नुअघि नै शिक्षक
तिर्थराज भट्ट शिक्षक सेवा आयोगले लिएको परीक्षामा सफल हुनुअघि नै एक कुशल शिक्षकको रुपमा परिचित थिए । २०६७ सालमा डोटीको घण्टेश्वर माविबाट प्रमाणपत्र तह पास गरिसकेपछि भट्टले गाउँकै भागेश्वर प्राथमिक विद्यालयमा १ वर्ष शिक्षण गरे । त्यो शिक्षणले उनमा आत्मविश्वास बढ्यो र शिक्षण पेशाप्रति रुचि पनि जगायो । त्यसपछि पढाउने शिलशिला जारी राखे । २०७० सालमा घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसबाट नेपाली विषयमा स्नातक पास गरेपछि पुनःगाउँमै रहेको एक निजी विद्यालय सरस्वती एकेडेमी जोरायलमै एकवर्ष शिक्षण गरे ।
उच्च शिक्षा हाँसिल गर्नका लागि धनगढी झरेका भट्टले आफ्नो व्यक्तिगत खर्च र पढाइको जोहोको लागि धनगढीमा पनि शिक्षण गर्ने मनसाय बनाए । संयोगबस उनलाई धनगढीको स्थापित निजी विद्यालय एरिष्टो माविमा शिक्षण गर्ने अवसर मिल्यो यो उनको जिवनको टर्निङ पोइन्ट नै थियो । त्यहाँ विद्यालय प्रशासनले उनलाई पढ्न र पढाउन कुनै छेकबार गरेन । उनले आफूलाई एरिष्टोमा माझ्न पाए । आफूसँग भएको पूरा पूरा ज्ञान विद्यार्थीलाइ बाँडे । २०७२ सालमा एरिष्टो प्रवेश गरेका भट्ट शिक्षक सेवामा नाम ननिकालुञ्जेल पढाइ नै रहे । विद्यालय प्रशासनले उत्कृष्ट शिक्षक भन्दै सम्मान ग¥यो,छोड्दा भव्य बिदाइ ग¥यो । समग्रमा उनले एरिष्टोबाट धेरै कुरा सिके र आफ्नो जिवनको लयपनि त्यहिबाट समाते ।
साहित्यमा छ्ट्टै पहिचान
तिर्थराज भट्टले शिक्षण पेशालाइ मात्र अंगालेनन उनले आफूमा भएको साहित्यक चेतलाई पनि संँगसँगै अगाडि लगे । विद्यालय स्तरबाटै कविता,गजल कोर्न रुचाउने भट्ट साहित्यकारको रुपमा समेत परिचित छन । उनले २०७० सालमा कर्मनाशाका भुल्काहरु नामक गजल संग्रह प्रकाशित गरे । त्यसपछि थप साहित्यमा रुचि जगाएका भटटले छन्दमा पनि कलम चलाए ।

धनगढी,महेन्द्रनगर आसपासका साहित्यिक कार्यक्रममा उनको नियमित उपस्थिति रहन थाल्यो । पत्रपत्रिकामा गजल,कविता र लेखहरु प्रकाशित हुन थाले । यसले उनको साहित्य लेखनको ढोका अझ फराकिलो बन्यो । आजभोली उनको परिचय शिक्षक सँगसँगै साहित्यकारको रुपमा पनि रहेको छ । उनले सम्झनाको संगाले स्मृति ग्रन्थ २०७३,लेखक मञ्च डोटी भाग –१ ( २०७३) भाग –२ (२०७४) ,यज्ञराज यात्री अभिनन्दन ग्रन्थ २०७६,घण्टेश्वर स्मारिका,नवजीवन स्मारिका,कैलाली जनपुस्तकालयको मुखपत्र मालिका २०७७,बाल कविता संग्रह ( सयुक्त कृति २०७८) र जोरायल दर्पण २०७९ सम्पादन गरेका छन । विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध भट्ट धनगढीबाट प्रकाशित डोटेली भाषको द्विमासिक पत्रिका सुदूर चिनारीमा सह- सम्पादकको रुपमा अहिले पनि कार्यरत छन ।

घरमै साहित्यमय वातावरण
तिर्थराज भट्टको घरमा पनि अत्यन्तै राम्रो साहित्यक माहोल रहेको छ । उनका बुवा भक्तराज भट्ट कवि हुन । भटट्ले एकपटकको भेटमा भनेका थिए बुवा सुन्दर कविता लेख्नु हुन्छ । घरमा सानो सानो पुस्तकाल नै छ बुवा दैनिक रामायण,महाभारत,रुद्री लगायतका धार्मिक पुस्तकहरु लय हालेर पढ्नुहुन्थ्यो ममा पनि बुवाकै गुण स¥यो किनकी बुवाले गर्ने हरेक गतिविधिमा मेरो नजर जान्थ्यो ।

उनले बजारबाट घरजाँदा बुवालाई लत्ताकपडा वा खानेकुरा भन्दापनि पुस्तक किनेर लगेपछि खुशी मान्ने गरेको बताए । भट्ट भन्छन बुवा प्राय आफैपनि वर्षको एकपटक बजार आएर पुस्तकको भारी किनेर लैजानुहुन्छ मैले पनि पुस्तक किनेर लगिदिए बढी खुशी मान्नुहुनछ ।
अत्यन्तै मिलनसार भट्ट जहाँ गए त्यहीँ घुलमिल भैहाल्छन । आफू बसेका ठाउँको बारे जानकारी लिन उनी हिच्किचाउँदैनन,त्यहाँको ऐतिहासिक तथा पुरातात्विक महत्व बारे बुझेर सामाजिक सञ्जालमा लेखिहाल्छन । २०७७ सालमा धनगढीकी बिनु पाठकसँग वैवाहिक बन्धनमा बाँधिएका भट्टका एक छोरी र एक छोरा गरी दुई सन्तान छन ।
