माघ २५,धनगढी : अन्तिम खेलमा नेपाललाई सात विकेटले हराउँदै थाइल्यान्डले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखला २०२५ को उपाधि जितेको छ ।
त्रिपल राउन्ड रोविन पद्धत्तिमा खेलाइएको शृंखलामा नेदरल्यान्ड्सलाई दुई अंकले पछि पादै थाइल्यान्ड च्याम्पियन बनेको हो । नेपालविरुद्ध क्लिन स्विप गरेको थाइल्यान्डले ६ खेलमा १० अंक जोड्यो । नेपालल भने जितविहीन रहँदै शृंखलाको अन्त्य गर्यो । शुक्रबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ८३ रनको झिनो लक्ष्य थाइल्यान्डले १७ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
थाइल्यान्डको जितमा कप्तान नरुएमोल चाइवाइले ३४ बलमा दुई चौकासहित सर्वाधिक २७ रन बनाइन् । त्यस्तै तेस्रो नम्बरका ब्याटर नन्नापाट कान्चोरोएनकाईले २३ रन जोड्दा ओपनर नटया बूचाथमले ११ रनको योगदान गरिन् । नेपालका लागि कप्तान इन्दु वर्माले दुई तथा पूजा महतोले एक विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरको समाप्तिमा सात विकेट गुमाउँदै २१ रनको योगफल खडा गरेको हो ।नेपालका लागि ओपनर सम्झना खड्काले २९ बलमा एक चौकासहित सर्वाधिक १७ रन जोडिन् । त्यस्तै मध्यक्रमका ब्याटर कविता जोशीले १४ रन बनाउँदा कप्तान इन्दु वर्माले १० रनको योगदान गरिन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
थाइल्यान्डका लागि ओनिचा कामचोम्फुले चार ओभरमा १५ रन खर्चिँदै तीन विकेट हासिल गरिन् । त्यस्तै चानिदा सुथिरुवाङ, नटया बूचाथम र सुलीपोर्न लाओमीको नाममा समान एक विकेट रह्यो । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० रन, १५ रन र १० विकेट तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार व्यहोरेको थियो ।यता थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो । यस्तै थाइल्यान्ड पछिल्लो खेलमा भने नेदरल्यान्ड्ससँग एक विकेटले पराजित भएको थियो ।