३०श्रावण,२०८२ः आज देशका विभिन्न पहाडी तथा तराईका जिल्लाहरूमा बाढीको जोखिम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुरमा बाढीको मध्यम जोखिम रहेको छ भने रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुरमा पनि बाढीको खतरा रहेको उल्लेख गरिएको छ।
त्यसैगरी, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम पश्चिम, कालीकोट, बाजुरा, डोल्पा, मुगु, हुम्ला र दार्चुलामा समेत बाढी आउन सक्ने सम्भावना रहेकाले ती जिल्लाका नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। यता, सुदूरपश्चिम प्रदेशमा भने मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको महाशाखाले जनाएको छ। आज सुदूरपश्चिमसहित देशका पहाडी भागहरूमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था देखिनेछ।
दिउँसो सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने गण्डकी, लुम्बिनी, कर्णाली र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा समेत वर्षा हुने पूर्वानुमान गरिएको छ। महाशाखाले बाढीको जोखिम रहेका स्थानहरूमा आवश्यक सतर्कता अपनाउन पुनः आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?