कार्तिक ६ धनगढी : आगामी नोमेम्बर १ देखि हङकङमा सुरु हुन लागेको १९औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा खेल्ने नेपाली टोली घोषणा भएको छ मंगलवार नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला विश्वकप डिभिजन -२ का लागि अमेरीकामा रहेकाले दोश्रो रोजाइका युवाहरुलाई क्यानले मौका दिएको छ । टोलीका अन्य सदस्यमा लोकेश बम, नारायण जोशी, प्रतिस जिशी, राशिद खान, दीपेन्द्र रावत र विवेक यादव रहेका छन ।
प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् । टोलीको मुख्य प्रशिक्षकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारी दिइएको छ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड एकै समूहमा रहेका छन् । प्रतियोगितामा नेपालको पहिलो खेलमा इङ्ग्ल्यान्डसँग कात्तिक १६ गते रहेको छ । दोस्रो खेलमा कार्तिक १७ मा अस्ट्रेलियासँग खेल्नेछ । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई छन् । श्रीलंका, बंगलादेश र ओमान समूह ‘डी’ छन् ।