माघ २८,धनगढी : धनगढीमा आयोजना भैरहेको महायज्ञमा सुदूरपश्चिमका ४ जनालाइ सम्मानित भएका छन । मानवसेवा आश्रमले आयोजना गरेको महायज्ञमा सुदूरपश्चिम क्षेत्रका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उनीहरुलाई प्रमाणपत्र ,खादा र रूद्राक्ष मालासहित सम्मान गरेको हो। सम्मानित हुनेहरूमा धनगढी उपमहानगरपालिका–५ निवासी ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट रहेका छन ।
भट्टले सुदूरपश्चिम प्रदेशको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको लागि सम्मान प्रदान गरिएको आश्रमले जनाएको छ। क्याम्पस प्रमुख भट्ट विगत लामो समयदेखि यस क्षेत्रकै अग्रेणी शैशिक संस्था ऐश्वर्य विद्या निकेतनको प्राचार्य हुँदै हाल ऐश्वर्य बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको रुपमा कार्यरत छन ।
यस्तै सुदूरपश्चिम प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रमा जोखिमपूर्ण साइकल यात्रा गरी आन्तरिक पर्यटन प्रवद्धर्नमा टेवा पुर्याएका गोदावरी नगरपालिका–८ मझगाउँ निवासी भरतविक्रम शाह, १०८ पटक रक्तदान गरी मानव जीवन रक्षार्थ पुर्याएको योगदान कदर गर्दै धनगढी उपहानगरपालिका–५ का दीपक प्रसाद उपाध्यायलाई पनि सम्मान गरिएको छ ।
मानव सेवा आश्रमले सुदूरपश्चिम प्रदेशको समग्र शिक्षा क्षेत्रको विकासमा योगदान पुर्याएको उभन्दै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्टार तथा शिक्षाविद् धनगढी उपहानगरपालिका-५ निवासी प्रा.डा.हेमराज पन्त र नास्ट कलेजका सञ्चालक अर्थविद शिवहरी शर्मा मुडभरीलाई पनि प्रमाणपत्र,खादा र रूद्राक्ष मालासहित सम्मान गरेको हो।
माघ २३ गतेदेखि धनगढीको पशुपति टोलमा सुरू भएको महायज्ञ सुदूरपश्चिम महोत्सव हुने ३० गतेसम्म सञ्चालन हुनेछ । मानवसेवा आश्रमले कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो।