धनगढी, चैत ११ : ‘धनगढी हाफ म्याराथन’ को एघारौं संस्करण नयाँ वर्ष २०८२ सालको वैशाख १ गतेको दिन आयोजना हुने भएको छ। ‘अब धनगढी दौडिन्छ’भन्ने नाराका साथ आयोजना हुने धनगढी हाफ म्याराथन नयाँ बर्षको दिन आयोजना गर्ने धनगढीमा सोमबार आयोजक धनगढी जेसिजले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
धनगढी हाफ म्याराथनको विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेप्रतियोगिताका संयोजक तथा धनगढी जेसिज २०२५ का कार्यकारी उपाध्यक्ष दीपक गौतमले जानकारी दिए।धनगढी हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड हुँदै पुनः धनगढी रंगशालामा पुगेर समापन हुनेछ।
प्रतियोगिताअन्तर्गत महिलातर्फ तथा कर्पोरेट र सञ्चारको ५ किलो मिटरको दौड पनि आयोजना गरिने आयोजकले जनाएको छ।दुई वटै विधाका विजेताले नगद ७ हजार ५ सय, उपविजेताले नगद ५ हजार र तेस्रो हुनेले नगद २ हजार ५ सय प्राप्त गर्ने प्रतियोगिता संयोजक गौतमले बताए। उनले प्रतियोगितामा सहभागिताका लागि विभिन्न स्थानहरुबाट धमाधम फाराम वितरण भइरहेको र सबैलार्ई सहभागीताका लागि अपिल पनि गरे ।
धनगढी जेसिजले सन् २०१४ देखि नयाँ वर्षको अवसरमा धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका धनगढी हाफ म्याराथन प्रतियोगिता गर्दै आएको छ।धनगढी हाफ म्याराथनको गत वर्षको दशौं संस्करणदेखि नेपाल एथलेटिक्स संघबाट स्वीकृत प्राप्त गरेका कारण हाफ म्याराथनमा रेकर्ड बनेमा यसका रेकर्डहरुले पनि मान्यता पाउने धनगढी जेसिजका महासचिव आशिष शाहले जानकारी दिए । पत्रकार सम्मेलन धनगढी जेसिज २०२५ का अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।