You are currently viewing नक्कली भुटानी शरणार्थी प्रकरणका बिचौलिया बेचन झा जेल चलान

नक्कली भुटानी शरणार्थी प्रकरणका बिचौलिया बेचन झा जेल चलान

नक्कली भुटानी शरणार्थीसम्बन्धी संगठित अपराधमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेका बिचौलिया बेचन झा जेल चलान भएका छन्। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई आइतबार थुनामा पठाउने आदेश दिएको हो।

उनीविरुद्ध संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत किर्ते मुद्दा दायर भएको थियो। चार दिन लामो बयान र थुनछेक बहसपछि थुनामा राख्ने आदेश भएको हो।इन्कारी बयान गरेका झाविरुद्ध प्रहरीले अन्य प्रमाण जुटाएको थियो। प्रहरीले यसअघि दायर गरेको अभियोगपत्रअनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग झाले नै भेट गराइदिएका थिए।

हाल पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डेले लिखित बयानमै यो तथ्य खुलाएका थिए। उनले बयानमा भनेका थिए, ‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’कांग्रेसका उच्च तहका नेताहरूसँग झाको निकटस्थ सम्बन्ध रहेको सूचना प्रहरीसँग थियो। तर, झाले इन्कारी बयान दिएकाले त्यसतर्फ अनुसन्धान गर्न सकेन।

बयानको क्रममा झाले नक्कली भुटानी शरणार्थीको विषयमा केही पनि थाहा नभएको दाबी गरेका छन्। बयानमा भनेका छन्, ‘टेकनारायण पाण्डेसँग मेरो चिनजान, सम्पर्क नभएकाले निजले कहाँ, कस्तो बयान दिएका हुन्, उनै जानून् । चेकको सम्बन्धमा केही जानकारी छैन।’

झुटो बोलेको परीक्षण गर्ने पोलिग्राफ टेस्ट गर्न नमानेको अभियोगपत्रमा उल्लेख छ। पक्राउ परेको दुई सातासम्म बयान नै दिन नमानेका झाले कानुन व्यवसायीहरूसँग सल्लाह गरेपछि केही जानकारी नभएको भनेर इन्कारी बयान दिएका हुन्।
प्रहरीको इतिहासकै हाइप्रोफाइल मुद्दा मानिएको यसमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङ्टावा शेर्पा, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत पक्राउ परेका थिए।

त्यस्तै, रायमाझीका छोरा सन्दीप रायमाझी, खाणका पिए नरेन्द्र केसी, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलगायत पक्राउ परेका थिए।

उनीहरूमध्ये टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा र प्रतीक थापा पुर्पक्षका लागि कारागारमा छन्।

Leave a Reply