वैशाख १२,काठमाण्डौं : नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । उनी शुक्रबार बेलुकी एयर इन्डियाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । गत जनवरीमा यसअघिका प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएपछि क्यानले मुख्य प्रशिक्षकको खोजीकार्य सुरु गरेको थियो ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरे । गत १५ चैतमा टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका उनी नियुक्त भएको करिब एक महिनापछि नेपाल आएका हुन् । यसबीचमा हङकङमा भएको चारदेशीय टी-२०आई शृंखलामा पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्ल प्रशिक्षक तोकिएका थिए ।
५६ वर्षीय लको पदावधी अप्रिलदेखि दुई वर्षको लागि हुनेछ । शनिबारदेखि लको उपस्थितिमा माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा नेपाली टोलीको कोर क्याम्प पनि सुरु हुँदैछ