शारीरिक तथा मानसिक रुपले तन्दुरुस्थीको अवस्थालाई स्वास्थ्य भनिन्छ । अर्को शव्दमा भन्नुपर्दा दुर्बलता रहित निरोगीपन स्वास्थ हो । स्वस्थ हुनका लागि शारीरिक तन्दुरुस्थताले मात्रै काम गर्दैन, त्यसका लागि मानसिक रुपमा पनि स्वस्थ हुनु आवश्यक हुन्छ । विश्व स्वास्थ्य संगठनले त शारीरिक, मानसिक र सामाजिक रुपले पनि स्वस्थ हुनुलाई स्वास्थ हनु भनेको छ । हरेक मानिसले स्वास्थ्यलाई नै सबैभन्दा पहिलो र ठूलो धन मानेका छन् । मानिस स्वस्थ रहे मात्रै अन्य कुराको महत्व हुने गर्दछ । यसकारण हरेक मानिस स्वस्थ रहने इच्छा मात्रै गर्दैन बरु त्यसका लागि हरेक प्रयास पनि गर्दै आइरहेको छ । हरेक प्राणीको स्वास्थलाई मध्यनजर गर्दै सृष्टिको सुरुवात तथा ज्ञानको उदय मानिने वैदिक कालदेखि नै चिनतन मनन गर्दै आएको पाइन्छ । प्राणीहरुको स्वास्थलाई नै मध्यनजर गरी यजुर्वेदको सिर्जना भएको मानिन्छ भने स्वास्थ्यकै लागि वैदिक कालदेखि नै विभिन्न किसिमका खोज, अनुसन्धानहरु समेत गरी विभिन्न प्राणीहरुलाई निरोगी बनाउनका लागि विभिन्न किसिमका उपचार पद्दतिहरुको समेत विकास भएको पाइन्छ । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनुलाई आयुर्वेद लगायत हालसम्मका स्वास्थ्यसम्बन्धी काम गर्दै आएका विज्ञ तथा शास्त्रहरुले पनि मुक्तकण्ठले प्रशंसा गर्दै आएको पाइन्छ । रोग लाग्न नदिनका लागि मानिसले के गर्ने ? कस्तो जीवनशैली अनुसरण गर्ने ? आदि विविध विषयमा विद्वानहरुले आआफ्ना मतहरु राख्दै आएको पाइन्छ । हाम्रा ऋषिमुनी तथा वैद्यहरुले स्वस्थ रहनका लागि आवश्यक तिन सुत्रहरु निर्धाण गरेको पाइन्छ । आयुर्वेद लगायत चरक संहितामा मानिसलाई स्वस्थ रहनका आवश्यक तिन सुत्रहरु तथा उपायहरुमा आहार, निद्रा र बह्मचर्यलाई महत्वपूर्ण मानेका छन् । आधुनिक स्वास्थ विज्ञानले पनि यिनै कुरालाई महत्व दिएको पाइन्छ । आहार, व्यवहार, निद्रा तथा बह्मचर्यले नै मानिसलाई स्वस्थ राख्नमा महत्वपूर्ण भूमिका खेल्ने कुरा शास्त्रहरुले बताएको पाइन्छ ।
सामान्यतया आहार भनेको भोजन हो । अर्को शव्दमा भन्नुपर्दा शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वहरुलाई आहार मान्न सकिन्छ । हामीले दैनिक जीवनमा भोक प्यास मिटाउन गरिने भोजन नै आहार हुन । बृहत् अर्थमा आहार भनेको खाने र पिउने कुरा मात्रै नभएर हाम्रो शरीर चल्नका लागि जति पनि बाह्य वस्तुहरु ग्रहण गर्दछ ती सबै आहार हुन । हामीले स्वाँस फेर्न लिने हावा, न्यानोका तथा अन्य तत्वका लागि ताप्ने घाम लगायत हामीले सुन्ने ध्वनि, हेर्ने दृश्य, महशुष गर्ने सुगन्ध लगायतका कुराहरुलाई पनि आहारका रुपमा लिइने गरिन्छ । मानिसले जस्तो खायो, जस्तो सुन्यो, जस्तो महशुष ग¥यो त्यस्तै प्रतिक्रिया शरीरले दिने गर्दछ । यसकारण शारीरिक रुपमा मात्रै नभएर मानसिक रुपमा ग्रहण गरिने कुराहरु पनि आहारभित्र नै पर्ने गर्दछन् । मानिस तथा अन्य प्राणीले कुन उमेरमा, कुन समयमा कस्तो मौषममा, कस्तो श्रममा के खाने, कस्तो खाने, कति खाने भन्ने कुराको विशेष ख्याल पुगाउनुपर्ने हुन्छ । खानेकुरा भन्दैमा जस्तो पायो उस्तै खाइदिए त्यसले शरीरलाई हानी गर्ने गर्दछ । महर्षि कश्यपले काश्यप संहितामा आरोग्यं भोजनाधीनम् भनेर आरोग्यता भोजनको अधीनमा हुने बताएका छन् । त्यसैगरी हाम्रा शास्त्रहरुमा आहारः प्रीणनः सद्यो बलकृद्देहधारकः।
आयुस्तेजः समुत्साहस्मृत्योजोऽग्निविवर्द्धनः ।। भनेर आहारले नै स्वस्थ व्यक्तिलाई रोग लाग्नबाट बचाउने भएकाले यसमा औषधिको भन्दा कम गुण नभएको र उचित समयमा उचित भोजन गर्नुपर्ने बताएका छन् । यसका लागि शास्त्रहरुमा उल्लेख गरिएको सात्विक सन्तुलित आहार मानिसले ग्रहण गर्नुपर्ने हुन्छ । बच्चाका लागि खाने भोजन र त्यसको परिमाण जवानका लागि उपयुक्त नहुन सक्छ, गर्मी मौसममा खाने भोजन जाडो मौसमका लागि उपयुक्त नहुन सक्छ, निरोगीले खाने भोजन रोगीले खान उपयुक्त नहुन सक्छ, यसकारण उमेर, अवस्था, मौसम आदि सबै कुराको ख्याल गरेर भोजन गर्नु उपयुक्त हुने गर्दछ । शरीरलाई आवश्यक पर्ने फलफूल, अन्न, गेडागुडी, जल, गोरस आदि सबैको सन्तुलन हुने गरी समयमा सात्विक भोजन गर्न सके मानिस निरोगी बन्दछ । आहारको सम्बन्ध मस्तिष्कसँग पनि हुने गर्दछ । जस्तो आहार, त्यस्तै व्यवहार भनिन्छ, यसकारण हामीले गरेको भोजन अनुसार हाम्रो शरीरमा उत्तेजना र प्रतिक्रिया हुने गर्दछ । मा.स आदि आहारले मानिसमा राक्षस प्रवित्तिका विचारहरु आने हुनाले यस्ता भोजनलाई राक्षस भोजनको कोटीमा छुट्याएको पाइन्छ । समग्रमा सही समयमा उपयुक्त भोजन गर्नाले मानिस निरोगी रहने भएकाले आहारलाई स्वास्थ्यको एक महत्वपूर्ण सुत्रको रुपमा लिने गरिन्छ ।
जसरी मानिसलाई भोजनको आवश्यकता पर्दछ त्यसैगरी आरामको पनि आवश्यकता पर्दछ । शरीर तथा मस्तिष्कलाई आराम दिनका लागि निद्रा अति आवश्यक हुने गर्दछ । निद्रालाई शान्तिको अर्को रुप पनि मानिन्छ । जुन व्यक्तिले राम्रोसँग निद्रा लिदैन त्यसलाई विभिन्न किसिमका मानसिक तथा शारीरिक रोगहरु लाग्ने गर्दछन् । मानिस तनावबाट मुक्त हुन र शरीरमा विभिन्न किसिमका रोगहरु लाग्न नदिनका लागि निद्रा अति आवश्यक हुने गर्दछ । निद्रा पनि रातमा उत्तम मानिन्छ । रातको दोस्र प्रहर अर्थात ९ बजेदेखि बिहान चार बजेसममको निद्रा उत्तम मानिन्छ । समयमा नसुत्ने मानिस मानसिक रोगको शिकार हुनुका साथै वायुरोगको शिकार बनी अन्य रोगहरुसँग लड्ने क्षमता नष्ट हुनुका साथै पाचन प्रणालीमा समेत कमजोरी निम्त्याउँछ । खाएको खाना पचाउनका लागि समेत आरामको आवश्यकता पर्दछ । यसकारण स्वस्थ रहनका लागि निद्रा अति आवश्यक हुने गर्दछ ।
स्वस्थताको तेस्रो महत्वपूर्ण सुत्र हो बह्मचर्य । बह्मचर्य भनेको अनुशासन हो । अनुशासन बिनाको मानसि कतै पनि शान्ति र सफलता प्राप्त गर्न सक्दैन । बह्म मुहुर्तमा निद्राबाट जागेर नित्कर्म, योग, ध्यान, पूजापाठ लगायतका कर्महरुलाई बह्मचर्य भनिन्छ । मानिसले सूर्योदयभन्दा पहिले नै उठेर नितयकर्म गरिसक्नुपर्ने अनुशासन हाम्रो ऋषिमुनीहरुले बताएका छन् । बिहानको शुद्ध हावाले मानिसलाई स्वस्थ राख्ने र शरीरलाई फुर्तिलो बनाउने गर्दछ । बिहानको समयमा उठेर सौँच लगायत शरीर शुद्धि गरी योग, ध्यान तथा व्यायाम गर्नु नै बह्मचर्य हो । अनावश्यक रुपमा विर्य पतन नगर्नु पनि बह्मचर्यभित्र पर्दछ । विर्यबाट ओज तथा तेज बन्ने र मानिसलाई तन्दुरुस्त बनाउने क्षमता हुने गर्दछ । यति मात्र नभएर सत्य बोल्नु, कसैलाई हानी नगर्नु, समान व्यवहार गर्नु, हरेक कर्ममा मन लगाएर अगाडि बढ्नु, विदा ग्रहण गर्नु लगायत परमार्थमा अनुशासन युक्त समग्र क्रियाकलाप समेत बहमचर्यभित्र पर्ने गर्दछन् ।
यसरी आहार, व्यवहार, निद्रा र बह्मचर्यको माध्यमले मानिस स्वस्थ रहन सक्छ । हाम्रा शास्त्रहरु तथा स्वास्थ सम्बन्धी विज्ञहरुले बताए अनुसार आहार, व्यवहार, निद्रा तथा बह्मचर्यको पालना गर्न सकेमा मात्र मानिस स्वस्थ रहन सक्छ । मानिसलाई रोग लाग्न नदिन र विश्व स्वास्थ्य संगठनले दिएको स्वास्थ्यको परिभाषा अनुरुप स्वस्थ रहन आहार, निद्रा र बह्मचर्यलाई स्वास्थ्य तथा जीवनका महत्वपूर्ण सुत्रका रुपमा बुझेर पालना गर्न सकेमा मात्र हामी स्वस्थ रहन सक्छौँ ।
- कविराज भट्ट