५ श्रावण,२०८२ : नेपाल आइडल सिजन सिक्सको टप १० मा पर्न सफल भएका डोटीको दिपायल सिलगढी नगरपालिका -४ राजपुर घर भएका नीरज विश्वकर्मालाई भोट गर्न परिवारले आग्रह गरेका छन् ।एसएमएस मार्फत भए पनि भोटिङ गर्न अपिल गरिएको हो । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल नेपालकै अहिलेसम्मकै ठुलो साङ्गीतिक प्रतिस्पर्धा हो । सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै डोटीका नीरज टप–१० मा परेका छन् ।

नेपाल आइडल बन्न दर्शकको भोट आवश्यक पर्ने भन्दै परिवारजनले सम्पूर्ण सुदूरपश्चिम,देशवासीलाई एसएमएस गर्न आग्रह गरेको हो । नेपाल आइडल बन्दा सुदूरपश्चिमको गौरव बढ्ने नीरजका बुवा प्रताप विकले बताए ।
नीरज सुदूरपश्चिमबाट नेपाल आइडलमा टप १० मा पुग्ने एक मात्रै प्रतिस्पर्धी हुन् । नीरजमा अरूमा भन्दा पृथक गायन क्षमता रहेको र उनको जित सुदूरपश्चिमको लागि गौरवको विषय हुने भएकाले एसएमएस भोटिङ गरी जिताउन उनका बुवा प्रतापले अपिल गरे । ‘छोरोको सानैदेखि गायनमा रुचि र गायक बन्छु भन्ने लक्ष्य अहिले सार्थक बन्ने मोडमा आइपुगेको छ, भोट गर्न आग्रह गर्छु’, उनले भने ।
नेपाल आइडल प्रतियोगिता हरेक शुक्रवार साँझ प्रसारण हुन्छ । शनिवार साँझ ९ बजेर ३० मिनेट देखि हुने अनलाइन भोटिङ मङ्गलवार दिउँसो २ बजे सम्म नीरजलाई भोट गर्न सकिन्छ । मोबाइलको म्यासेज बक्समा गई NI09 टाइप गरी ३७०० मा पठाउन सकिनेछ । विदेशमा रहेका दर्शकले भोट गर्न नेपाल आइडलको एप डाउनलोड गर्नुपर्ने हुन्छ ।
उनले नेपाल आइडलमा विजयी बनाउने हात दर्शकको रहेको भन्दै भोट गर्न आग्रह गरे । नीरजलाई एसएमएस भोटिङ गरी जिताउन विभिन्न कलेज, उच्च मावि र संघसंस्थामा पुगेर अपिल गरेको उनले बताए ।छोटो समयमा भोट गरेर आफूलाई विजेता बनाउन विश्वकर्माले सबै सुदूरपश्चिम बासीलाई अपिल गरेका छन्।उनले नेपाल आइडलको सिजन सिक्समा सुदूरपश्चिमबाट एक मात्रै प्रतिस्पर्धी रहेकाले सबैको सहयोग पाए आफू विजेता हुने आशा लिएको बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?