पौष २,धनगढी : नेपाल प्रिमियर लिगको विजेता टोलीले नगद १ कोड दश लाख पुरस्कार पाउने भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिगको फेसबुक पेजमा केहिबेर अगाडी पोस्ट गर्दै प्रतियोगीताको विजेता,उपविजेता र तेश्रो तथा चौथो टोलीले पाउने पुरस्कार बारे जानकारी गराएको हो ।त्यस्तै उपविजेता टोलीले ५१ लाख,तेश्रो हुनेले २५ लाख तथा चौथो स्थान हात पार्नेले १५ लाख प्राप्त गर्ने क्रिकेट संघ क्यानले जनाएको छ ।
८ टोली सहभागी नपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्स,जनकपुर बोल्टस,चितवन राइनोज र कर्णाली याक्सले प्लेअफमा स्थान बनाएका छन भने लुम्बिनी लायन्स,विराटनगर किंस,काठमाण्डौं गार्खाज र पोखरा एभेन्जर्सले प्लेअफमा स्थान बनाउन असफल भए । मंसिर १५ गतेदेखि सुरु भएको पहिलो संस्कणको नेपाल प्रिमियर लिगको फाइनल खेल पौष ६ गते शनीबार टियु मैदानमा आयोजना हुँदैछ । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णालीबीच हुनेछ । त्यो इलिमिनेटर खेल हुनेछ। त्यस खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रवेश पाउनेछ । पराजित हुने टोली एनपिएलबाट बाहिरिने छ । बुधवार दिउँसो १ बजे प्लेअफको दोस्रो खेल हुनेछ । प्लेअफको दोस्रो खेल पहिलो क्वालिफायर खेल हुनेछ । त्यसमा शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रोको जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
पहिलो क्वालिफायर खेलको विजेता टोलीले स्वतः फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ । पहिलो क्वालिफायरको पराजित टोली र इलिमिनेटरको विजेताबीच दोस्रो क्वालिफायर खेल हुनेछ । त्यसको विजेता फाइनल पुग्ने दोस्रो टोली हुनेछ। बहुप्रतिक्षित फाइनलका लागि नेपाली क्रिकेटप्रेमी व्गग्र प्रतिक्षामा छन । पहिलो संस्कणको नेपाल प्रिमियर लिगको उपाधिमाथि कुन टोलीले कब्जा जमाउनेछ त्यो भने हेर्न बाँकी छ ।