फागुन ५ धनगढी : नेपाल सुपर लिग ९एनएसएल० फ्रेन्चाईजी टोली तथा साविक उपविजेता धनगढी एफसीले सहायक प्रशिक्षकमा भिष्म भाटलाई नियुक्त गरेको छ । गो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढीले आज धनगढीमा एक कार्यक्रम गर्दै भाटलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।
सहायक प्रशिक्षक भाट र गो ड्रिमर्सका अध्यक्ष सुवाश शाही बीच तेस्रो संस्करणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सहायक प्रशिक्षकमा नियुक्त भएपछि भाटले आफ्नै शहरको टीममा काम गर्न पाउँदा खुशी लागेको बताए । उनले टोलीलाई उत्कृष्ट नतिजा दिलाउनका लागि आफ्नो तर्फबाट लाग्ने पनि बताए ।
यस्तै क्लबले देवेन्द्र तामाङ, रामचन्द्र वाझी र रन्दिप पौडेललाई रिटेन गरेको छ । देवेन्द्रलाई ए क्याटोगोरी र रामचन्द्र तथा रन्दिपलाई बी क्याटोबारीमा रिटेन गरेको हो । देवेन्द्र गत सिजन धनगढी एफसीको कप्तान समेत रहेका थिए । तीन जना खेलाडीलाई रिटेन गर्न पाउने नियम अनुसार उनीहरुलाई रिटेन गरेको धनगढी एफसीले जनाएको छ ।
धनगढीले यसअघि नै कृतिशरत्न छुन्जुलाई मार्की प्लेयर नियुक्त गरिसकेको छ । क्लबले आईतबार २१ वर्षीय युवा अट्याकिङ मिडफिल्डरलाई मार्की बनाएको थियो । छुन्जुले पहिलो सिजन बुटबल लुम्बिनी एफसीबाट एनएसएल खेलेका थिए । दोस्रो सिजन भने धनगढी पुगेका हुन् । धनगढी दुवै संस्करणको उपविजेता टोली हो ।
पहिलो संस्करणको फाईनलमा धनगढी काठमाडौं रेजर्ससँग पराजित भएको थियो । अर्को संस्करणमा भने ललितपुर सिटीले हराउँदै उपाधि उचाल्यो । तेस्रो संस्करणको अक्सन यही १० गते शनिबार हुँदैछ । यसपल्ट धनगढी सहित सात टोलीले प्रतिस्पर्धा गर्दैछ ।