फाल्गुन १६,धनगढी :धनगढी रंगशलामा धनगढी एफसी को ट्यालेन्ट हन्ट हुने भएको छ । नेपाल सुपर लिग एनएसएलको आगामी सिजनका लागि धनगढी एफसीले शनिवार ट्यालेन्ट हन्ट गर्न लागेको हो ।
कैलाली जिल्ला फुटबल संघको प्राविधिक सहयोग र एसपीए कलेजको सहयोगमा धनगढी एफसीले भोली फागुन १७ गते शनिवार बिहान ०८ः४५ बजे बिहानबाट ट्यालेन्ट हन्ट गर्ने जनाएको छ । ट्यालेन्ट हन्टुमा सहभागी भई पहिलो एक जना विजेता खेलाडी नेपाल सुपर लिग २०२५ का लागि धनगढी एफसीको टिममा छनोट हुनेछन् । भने ३ जना खेलाडीलाई ड्रिमर्स अफ धनगढी नामकरण गरी एसपीए कलेजमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने डीएफसीको मातृ संस्था गो ड्रिमर्सले जनकारी दिएको छ ।
ट्यालेन्ट हन्टमा सहभागी हुनका लागि कुनै राष्ट्रिय लिगमा नाम दर्ता नभएको र २३ वर्षभन्दा कम उमेरका समूहको सुदूरपश्चिम प्रदेश बासी नेपाली नागरिक हुने पर्ने प्रावधान राखिएको छ ।नेपाली क्रिकेट टोलीका स्टार खेलाडी दीपेन्द्रसिंह ऐरीलाई आफ्नो एम्बेसडर नियुक्त गरेको धनगढी एफसीले यस अघि नै नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर कृतिश रत्न छुन्जुलाई आफ्नो मार्की खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
त्यस्तै, क्लबले लेबनानी प्रिमियर लिग क्लब बुरज एफसीका स्ट्राईकर अहमद हिजाजीलाई लोनमा साइन गरेको छ । हिजाजीले एनएसएल २०२३ मा धनगढी एफसीबाट खेलेका थिए । जहाँ उनले ४ गोल गर्दै टिमलाई फाइनलसम्म पुर्याएका थिए । धनगढी एफसी एनएसएल २०२१ र एनएसएल २०२३ दुवै संस्करणमा उपविजेता बनेको थियो ।धनगढी एफसीले नेपाल सुपर लिगको आगामी सिजनका लागि जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ भने सहायक प्रशिक्षकमा धनगढीका भिष्म भाट रहेका छन् ।