१३श्रावण,२०८२ः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघका लागि प्रख्यात गन्तव्यका रूपमा रहेको छ। निकुञ्जमा पाटेबाघका लागि कम क्षेत्रफल भए पनि ४४ वटा बाघ छन्। विश्वको दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात मानिएको छ।
तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जमा पर्याप्त आहारा, बासस्थानकोे उचित व्यवस्थापनले बाघको सङ्ख्या बढ्दै गएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। उनका अनुसार निकुञ्जमा सन् २०१३ मा १७ वटा बाघ रहेकामा सन् २०१८ मा १६, सन् २०२१ मा १९ र सन् २०२२ मा उक्त सङ्ख्या बढेर ३६ पुगेको हो।
निकुञ्ज कार्यालयको पछिल्लो गणनाअनुसार यहाँ बाघको सङ्ख्या ४४ पुगेको छ। निकुञ्जमा क्यामेरा ट्र्यापिङ विधिबाट गरिएको गणनाअनुसार २४ भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको सङ्ख्या ४४ पुगेको सूचना अधिकारी वाग्लेले बताए। निकुञ्जका अनुसार थोरै क्षेत्रफल रहेको शुक्लाफाँटामा बाघको सङ्ख्या धेरै हो।
’यहाँ बाघका लागि आहारा र बासस्थानको उचित वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्’, वाग्लेले भने, ’निकुञ्जमा कोर एरिया व्यवस्थापन प्रभावकारी छ, यहाँ १०० बढी पानीका ताल छन् त्यसकारण बाघको आहारा बढेकाले सङ्ख्यामा वृद्धि भएको हो।’
उनले शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र निकुञ्जभित्र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको बताए। उनका अनुसार निकुञ्जमा बाघको प्रमुख आहाराका रूपमा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल छन्।
’निकुञ्जभित्र जैविक विविधताले भरिपूर्ण प्राकृतिक ताल र कृत्रिम तालहरू पनि छन्’, सूचना अधिकारी वाग्लेले भने, ’यसले वन्यजन्तुलाई प्यास मेटाउन पानीको अभाव छैन।’ निकुञ्ज क्षेत्रमा चौधर, स्याली र महाकाली नदी छन्। चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख पानीको स्रोत रहेको निकुञ्जले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?