चैत्र १०,धनगढी : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिम प्रदेशका किरणकुमार ठगुन्नाले रेकर्ड माथि रेकर्ड कायम गरेका छन्। किरनले प्रधानमन्त्री कपको एकै सिजन दुई शतक प्रहार गर्ने रेकर्ड राखेका हुन्। ठगुन्ना जारी सिजनमा पहिलो शतक प्रहार गर्ने खेलाडी पनि हुन । यससँगै अघिल्लो सिजनको दुई शतक प्रहार गरेका त्रिभुनव आर्मीका क्लब कप्तान विनोद भण्डारीको कीर्तिमान बराबरी गरेका छन्। गत सिजन भण्डारीले एकै सिजन दुई शतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए।
नेपाल ए टिमबाट खेलिसकेका किरणले आइतबार दाङको लमहीमा भएको कोशी प्रदेशविरूद्धको खेलमा शतक प्रहार गरेका हुन्। छैटौं नम्बरमा ब्याटिङ गरेका किरणले ११५ रन बनाउन सफल भए। उनले ९१ बलमा १२ चौका र ४ छक्का प्रहार गर्न सफल भए।
किरणको शतकमा सुदूरपश्चिमले कोशीविरूद्ध आइतबार २४२ रन जोडेको छ। किरणबाहेक सुदूरपश्चिमका अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा कोशीका ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए भने फिर्दोस अन्सारी र अंकित सुवेदीले २/२ विकेट लिए। यसअघि किरणले गण्डकी विरूद्धको खेलमा १२१ रन प्रहार गरेका थिए।
जारी प्रधानमन्त्री कपमा यो तेस्रो शतक हो। किरणबाहेक जारी प्रतियोगितामा आर्मीका ओपनर त्रृतराज दासले पनि शतक प्रहार गरेका छन्। दासले कोशीविरूद्धकै खेलमा ११२ रन बनाएका थिए। अघिल्लो सिजन १० शतक प्रहार पनि यो सिजन संघारमा आइपुग्दा अहिलेसम्म तीन शतक मात्र प्रहार हुन सफल भएका छन्।
प्रतियोगीतामा ७ खेल सकिसकेको सुदूरपश्चिम २ मा जीत र ५ मा हार सहित अंक तालिकाको सातौं स्थानमा रहेको छ । ७ खेलमा ७ ओटैमा जीत निकालेको पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने त्रिभुवन आर्मी दोश्रो,एपिएफ तेश्रो र कर्णाली तेश्रो स्थानमा रहेका छन । अंक तालिकाको शीर्ष स्थानमा रहेका दुई टोली उपाधिका लागि भिड्नेछन । प्रधानमन्त्री कप प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोली सहभागी छन्।