चैत्र १४,धनगढी : लिग चरणका आथ खेलमा जीत निकालेको नेपाल पुलिस क्लबलाई अर्को विभागीय क्लब त्रिभुवन आर्मीले पराजित गरेको छ । नेपाल पुलिस क्लबविरुद्ध चार विकेटको जित निकाल्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
जितसँगै आर्मीले ९ खेलमा १६ अंक जोड्यो । प्रतियोगीतामा पहिलो पराजय व्यहोरेको पुलिसको पनि समान खेलबाट १६ अंक नै रह्यो । सामान अंक भए पनि नेट रनरेटका आधारमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै फाइनल पुगे ।भैरहवाको एक्ट्रटेक ओभलमा पुलिसले प्रस्तुत गरेको १४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
आर्मीका लागि विवेक यादवले अविजित ४१, तृतराज दासले २५, भीम सार्कीले २३, सन्तोष कार्कीले २२, कप्तान विनोद भण्डारीले अविजित १३ र बसिर अहमदले १२ रज बनाए ।पुलिसका लागि ललितनारायण राजवंशीले चार तथा कप्तान दीपेन्द्रसिंह ऐरी र करण केसीले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४१।४ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनको योगफल तयार पारेको थियो ।पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ३७ बलमा तीन चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी आरिफ शेखले २२, गुल्शनकुमार झाले १७, सागर ढकालले अविजित १६ र अर्जुन साउदले १३ रन बनाए ।
आर्मीका लागि शाहब आमलले चार, नरेन साउदले तीन तथा कुशल मल्ल र भीम सार्कीले समान एक विकेट लिए । अब यीनै दुई टोली चैत्र १६ गते शनिबार उपाधिका लागि भिडन्त हुनेछ । प्रतियोगीतामा ७ प्रदेशका ७ टोली र ३ विभागीय गरी १० टोलीको सहभागीता रहेको थियो ।