You are currently viewing प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट,पूर्वमन्त्री देउवाले उद्घाटन गर्ने

प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट,पूर्वमन्त्री देउवाले उद्घाटन गर्ने

माघ,१,धनगढी :मंगलबारदेखि सुरू हुने प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेश जोशीले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो।

मैदानमा पिच निर्माण लगायतका कामको तयारी पूरा भएको र खेलाडीहरु पनि धनगढी पुग्ने क्रम जारी रहेको उहाँले बताउनुभयो।मंगलबार बिहान ९ बजे हुने उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पुर्वाधारमन्त्री प्रकाश देउवा,नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहनेछ ।

उद्घाटन समारोहपश्चात हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश भिड्नेछन् । माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपीएफ र आर्मीको टोली सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मण भट्टले बताउनुभयो।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन् ।यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको उपाधि जित्नेले ५ लाख पुरस्कार पाउने नेपाल क्रिकेट संघका महिला विकास समितिका सदस्य तेजप्रकाश भट्टले बताउनुभयो।यस्तै दोस्रो हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/ २५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई ३ हजार पुरस्कार दिइनेछ । प्रथम र द्वितीय पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले र बाँकी पुरस्कारहरूको रकम सुदूरपश्चिम खेलकुद परिषद्ले उपलब्ध गराउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply