प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगीताको उपाधि एपिएफलाई /@PMCUP2081

माघ १२,धनगढी : धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगीताको उपाधि डिफेण्डिङ च्याम्पियन एपिएफले जितेको छ । विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको छ ।

गत संस्करणमा कोशी प्रदेशलाई हराउँदै एपिएफ च्याम्पियन भएको थियो । एपिएफ प्रतियोगिताको इतिहासमा भने सातौं पटक च्याम्पियन भएको हो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपिएफले १२.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । टोली ओपनर ममता चौधरीले नट आउट रहँदै सर्वाधिक ४४ रन जोडिन् । दोस्रो विकेटका लागि ममता र कप्तान इन्दु बर्माले ४४ रनको विजयी साझेदारी गरिन् । इन्दु १८ रनमा नट आउट रहँदा राजमती ऐरीले ४ रन बनाइन् । त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले १८.१ ओभरमा अल आउट हुँदै ६७ रन जोड्यो ।

सुदूरपश्चिम प्रदेशका लागि मनिषा बोहाराले सर्वाधिक १८ तथा बिन्दु रावलले १७ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपिएफका लागि कविता जोशीले ३, सबनम राई र कप्तान इन्दुले समान २ विकेट लिए ।

Leave a Reply